२४ बैशाख २०८१, सोमबार

दार्चुला घटनाका सूचना विश्लेषण गर्दै छानविन समिति

darchula

तुईनको साहारामा महाकाली नदी तर्ने बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन फुकालिदिएपछि ब्यास गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामी साउन १५ गते बेपत्ता हुनुभयो ।

एसएसबीले तुईन फुकालेकै कारण धामी बेपत्ता भएको भन्दै प्रत्यक्षदर्शी र स्थानीयहरुले बयान दिएपछि घटनाको छानविनका लागि गृह मन्त्रालयले गठन गरेको छानविन समिति गत मंगलबारदेखि दार्चुलामा छ ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन समितिले घटनास्थलको अवलोकन, प्रत्यक्षदर्शीका बयान, पीडित परिवारका कुराहरु सुन्ने र सरोकारवालाहरुबाट सुझाब संकलन गर्ने काम गरिरहेको छ ।

समितिले शुक्रबार तुइन राखिएको नेपालपट्टिको भाग अवलोकन गर्नुका साथै पीडित परिवारसँग भेट गरेको छ । टोलीले घरमै आएर पारिवारिक अवस्थादेखि वारिपारि (नेपाल–भारत) को सम्बन्धलगायत विषयमा जिज्ञासा राखेको बेपत्ता जयसिंहका भाइ नरेन्द्रसिंह धामीले बताउनुभयो ।

सरकारी टोली घरमा पुग्दा पीडित परिवारमा रुवाबासी चलेको थियो । बेपत्ता जयसिंहकी पत्नी राजन्तीले श्रीमानलाई महाकालीमा बेपत्ता बनाउने एसएसबीमाथि कडा कारबाही हुनुपर्ने माग गर्नुभयो ।

नाबालक छोराछोरीको पालनपोषण र शिक्षादीक्षाबारे पनि उहाँले चिन्ता व्यक्त गरेको छानविन समितिले जनाएको छ । जयसिंह बेपत्ता भएको चार–पाँच दिनसम्म केही नखाएकी राजन्ती अहिले थोरै खान थाल्नुभएको छ । बेपत्ता धामीको परिवारमा एक छोरा, एक छोरी र श्रीमती छन् । घरमा सान्त्वना दिन छिमेकी र इष्टमित्र आउने क्रम जारी छ ।

छानविन समितिले बिहीबार एसएसबीको सुरक्षामा भारतपट्टि तुइन लगाएको ठाउँको निरीक्षण गरिसकेको छ । सरकारी टोली भारतपट्टि निरीक्षण गरिरहँदा नेपालपट्टि पीडितको कुरा सुन्न गाउँमै आउन माग गर्दै स्थानीयले नाराबाजी गरेका थिए । त्यसअघि छानबिन टोलीले घटनाका प्रत्यक्षदर्शी कल्यानसिंह धामी, विक्रम रंकोली र अनिता धामीसँग सदरमुकाम खलंगामै बयान लिएको थियो । बयान लिएपछि प्रतक्षदर्शीलाई गाउँ पठाइएको छ ।

साउन १७ मा गठन गरिएको समितिलाई १० दिनभित्र छानविन प्रतिवेदन बुझाउन समय दिइएको छ । छानविन टोलीले सूचना संकलन तथा विश्लेषण गरिरहेको बताएको छ । सरोकारवालासँग सोधपुछ जारी रहेको बताउँदै टोलीका संयोजक गौतमले भन्नुभयो, सूचना संकलन गर्ने काम जारी छ, प्राप्त सूचनाहरु विश्लेषण गरेर चाडै रिपोर्ट बुझाउँछौँ ।

स्थानीय तथा प्रतक्षदर्शीले मालघाटमा एसएसबीले तुइन फुकालिदिदा धामी महाकालीमा बेपत्ता भएको बताएपनि भारत पक्षले सो घटनामा एसएसबीको संलग्नता नभएको दाबी गरिरहेको छ ।

बेपत्ता धामीको परिवारलाई विभिन्न निकाय र व्यक्तिबाट ४१ हजार रुपैयाँ आर्थिक सहयोग भएको छ । शुक्रबार सरकारी छानबिन टोलीका संयोजक गौतमले पीडित परिवारलाई १० हजार सहयोग गर्नुभयो । व्याँस गाउँपालिकाले २५ हजार, विप्लव नेतृत्वको नेकपा माओवादीका जिल्ला सचिव भरत मल्लले पाँच हजार र सशस्त्र प्रहरीका नरेन्द्र बडालले एक हजार सहयोग गर्नुभएको छ ।

एसएसबीविरुद्ध नबोल्न प्रत्यक्षदर्शीलाई धम्की

एसएसबीले तुईन फुकालेको बयान नदिन प्रतक्षदर्शीहरुलाई धम्की आइरहेको छ । २१ वर्षदेखि महाकालीमा तुईन सञ्चालन गर्दै आएका प्रतक्षदर्शी कल्यानसिंह धामीले भन्नुभयो, घटना भएको दिनदेखि फोन आएर झन् धेरै तनाव भएको छ । जयसिंह बेपत्ता हुनुमा एसएसबीको दोष छ, यो कुरा म सुरुदेखि नै भनिरहेको छु ।

छानबिन समितिको बयानमा पनि त्यही भनेको छु । हामी तीनैजना प्रत्यक्षदर्शीको लगभग एउटै बयान छ । तुइनको डोरी फुकाउने एसएसबीका आफन्तहरूले फोन गरेर धम्की दिइरहेका छन् । धामीले भन्नुभयो, फोन गरेर अब भारतीय बाटो कहिल्यै नहिँड्ने हो ? कि हिँड्ने हो ? भनेर उनीहरू पारिबाट फोन गरिरहेका छन् ।

एसएसबीलाई बचाउन निरन्तर फोनमार्फत धम्की आउन थालेपछि मोबाइल नै बन्द गर्ने गरेको उहाँले बताउनुभयो । उनीहरूले एसएसबीलाई बचाइदिनुप-यो, त्यो दिन हामीले उनीहरूलाई गस्ती आएको देखेकै छैन भनेर बयान देऊ भन्छन, तर, उनीहरूले धम्की दियो भन्दैमा म सत्य कुरा कसरी लुकाउ, धामीले भन्नुभयो ।

बरु भारतको बाटो नहिँडौँला, नेपालबाटै हिँडौँला । मर्नुपरे पनि बाँच्नुपरे पनि आफ्नो भूमि छँदै छ । आफ्नै आँखाअगाडि देखेको कुरालाई परिवर्तन नगर्ने प्रतक्षदर्शी धामीको भनाई छ ।