१७ बैशाख २०८१, सोमबार

अटोमा रुख ढल्दा झर्ना हेर्न आएका मध्य एकको निधन, तीन गम्भीर घाइते

auto accident 1

उदयपुरगढी गाउँपालिका–७ मा आज दिउँसो ३ बजे जङ्गल छेउको अँधेरी झर्ना खण्डमा सखुवाको रुख अचानक ढलेर किच्दा एक महिलाको घटनास्थलमै निधन भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन् ।

ज्यान गुमाउनेमा कटारी नगरपालिका–४ का २८ वर्षीया निशा मगर दनुवार रहेकी छन् । त्यस्तै घाइते हुनेमा कटारी–४ का २७ वर्षीया मीना दनुवार, ४० वर्षीय श्याम दनुवार र कटारी–५ का २८ वर्षीय कुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरगढी–७ को जङ्गलमा पर्ने अँधेरी झर्ना हेर्नका लागि मृतक महिला र अन्य तीनजना मोटरसाइकलमा सवार भएर कटारीबाट आज उदयपुरगढी आएको प्रहरीले जनाएको छ ।

दिउँसो बढी गर्मी भएका कारण मृतक महिला उदयपुरगढीको अँधेरी झर्ना घुम्न आउने व्यक्तिले रोकिराखेको प्रदेश नं २–०१०–१ त ०५६० नम्बरको अटोको सिटमा केही समयका लागि बसिरहेकी थिइन् ।

अन्य व्यक्ति सडकभन्दा केही पर बसिरहेका बेला रुख अचानक ढल्दा किचेर अटोमा बसेकी महिलाको घटनास्थलमा नै निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय कटारी र जिल्ला प्रहरी कार्यालय उदयपुरको टोली घटनास्थल पुगेर सर्जिमिन मुचुल्का गरेपछि अहिले आफन्तले शव कटारी लगेका छन् भने गम्भीर घाइते भएकालाई उपचारका लागि विराटनगरतर्फ पठाइएको प्रहरीले जनाएको छ । रासस