२२ बैशाख २०८१, शनिबार

सियूजी सेवामा आबद्ध ग्राहकलाई टेलिकमद्वारा छुटको घोषणा

सियूजी सेवामा आबद्ध ग्राहकलाई टेलिकमद्वारा छुटको घोषणा

नेपाल टेलिकमले सियूजी सेवामा आबद्ध हुने ग्राहकलाई अन लिमिटेड कलदेखि डाटासम्मको छुटको घोषणा गरेको छ । 


टेलिकमले कर्पोरेट युजर ग्रुप–सियूजी सेवामा आबद्ध हुने ग्राहकको सङ्ख्यामा वृद्धि हुने क्रम जारी रहेकाले कुनै संस्था र कार्यालयमा कार्यरत न्यूनतम दश मोबाइल प्रयोगकर्तालाई सियूजी समूहमा आबद्ध गराएर छुट दिन सकिने जनाएको हो ।


सियूजी सेवामा आबद्ध सदस्यबिच निःशुल्क रूपमा अन लिमिटेड भ्वाइस कल गर्न, सस्तो दरमा डाटा चलाउन र एसएमएस पठाउन सकिने तथा सियूजीमा आबद्ध नभएका नेपाल टेलिकमको नेटवर्कभित्रका अन्य नम्बरमा कुराकानी गर्न सकिने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो ।


कम्पनीले उपलब्ध गराएको सेवामा प्रिपेड मोबाइलका ग्राहकले २०० को प्याकेजअन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अन लिमिटेड कलबाहेक १०० मिनेट अननेट र १० मिनेट अफ नेट भ्वाइस सुविधा तथा ५० वटा अन नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने एक जिबी डाटा सुविधा प्राप्त गर्न सक्नेछन् ।


त्यसैगरी पोस्टपेड मोबाइलका ग्राहकले ५०० को प्याकेज अन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अन लिमिटेड कल बाहेक ५०० मिनेट अन नेट र ५० मिनेट अफ नेट भ्वाइस सुविधा तथा १०० अन नेट एसएमएस र ३० वटा अफ नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने पाँच जिबी डाटा सुविधा प्राप्त गर्न सक्ने नेपाल टेलिकमले जनाएको छ ।