१७ बैशाख २०८१, सोमबार

अध्यक्ष ओलीले विगतका गल्तीमा माफी मागे मात्रै पार्टी एकता सम्भवः नेपाल खनाल समूह

madhav jhalanath
फाइल फोटो

नेकपा एमाले नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले सुझाव दिने क्रम सकिएको छ ।

काठमाडौंको बुद्धनगरमा जारी बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले विगतमा गरेका गल्तीका लागि माफी माग्नुपर्ने बताएका छन् ।

हिजोदेखि शुरु भएको बैठकमा केन्द्रीय सदस्यलाई बोल्नका लागि ३–३ मिनेटको समय निर्धारण गरिएको थियो । अधिकांश केन्द्रीय सदस्यले सम्मानजनक एकता हुनुपर्नेमा जोड दिएका छन् । तर धेरै सदस्यको जोड पार्टी एकताकै पक्षमा देखिएको छ ।

उनीहरुले अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल विश्वास गर्न नसकिने भन्दै त्यसप्रति नेतृत्व सचेत बन्नुपर्ने सुझाव पनि दिएका छन् ।

दशबुँदे सहमतिले एकताको आधार तयार पारे पनि त्यसपछि संस्थापनले गरेका निर्णय र अध्यक्ष ओलीले व्यक्त गरेका भनाइले वातावरण बिथोलिएको तर्क पनि धेरै सदस्यको छ ।

नेपालखनाल समूहले एकताको प्रयासका लागि समयावधि तोकेरै अघि बढने तयारी गरेको छ । केन्द्रीय सदस्यका सुझाव सकिएपछि अहिले स्थायी समिति सदस्यले धारणा राखिरहेका छन् । स्थायी समितिको सुझाव सकिएपछि विभिन्न प्रस्ताव पारित गरेर बैठक सकिने बताइएको छ ।