२१ बैशाख २०८१, शुक्रबार

सिंह निवासमा पौडेल पक्षकाे बैठक, महाधिवेशन समयमै सम्पन्न गर्नेबारे छलफल

nc paudel prakashman

सत्तारुढ दल नेपाली काँग्रेसको आसन्न चौधौं केन्द्रीय महाधिवेशनका सम्बन्धमा पार्टीभित्र निरन्तर छलफल हुदै आएको छ ।

बिहीबार पनि काँग्रेस नेता प्रकाशमान सिंहको निजी निवास ठमेलको चाकसीबारीमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुबीचमा काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित समयमा नै कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल भएको छ ।

काँग्रेसको चौधौं महाधिवेशनको कार्यतालिका कार्यान्वयन गर्न पार्टी र पार्टी नेतृत्वले निर्वाचन समितिलाई निर्देशन दिनुपर्ने काँग्रेसका नेता रामचन्द्र पौडेलले बताउनुभएको छ ।

नेता पौडेलले महाधिवेशनका कामहरु समयमै सुरु हुन नसकेको भन्दै निर्वाचन समितिले प्रक्रिया छोट्याएर भएपनि प्रदेश र केन्द्र तहको अधिवेशन गर्न सक्ने बताउनुभयो ।

प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा सरकारको पनि नेतृत्व गरिरहनुभएका कारण महाधिवेशन छलफलका लागि पनि समस्या भइरहेको बताउनुहुदै नेता पौडेलले आउँदो भदौं २३ गतेसम्ममा नयाँ कार्यसमिति चयन हुन नसकेमा केन्द्रीय समिति र पार्टीको वैधानिकता संकटमा पर्ने चिन्ता व्यक्त गर्नुभयो ।

सत्तारुढ काँग्रेसले आगामी भदौं १६ देखि १९ गतेसम्म आसन्न चौधौं केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने मिति तय गरेको थियो तर, साउन १२ गते नै वडास्तरको अधिवेशन स्थगित भइसकेको छ ।

समयमै महाधिवेशन सम्पन्न गर्न नसकिए पार्टीको संवैधानिक पाटोलाई पनि ख्याल गर्दै नेता पौडेल पक्षले विभिन्न वैकल्पिक पक्षहरुमा पनि जोड दिदै आउनुभएको छ ।

विशेष महाधिवेशनका सन्दर्भमा बोल्नुहुदै नेता पौडेलले, यो आफूहरुको रहर नभएर अन्तिम एवम् अस्थायी विकल्प मात्रै भएको प्रतिक्रिया दिनुभएको छ । सिंह निवासमा भएको छलफल समापन भइसकेको छ ।