१४ बैशाख २०८१, शुक्रबार

छलफलमा जुट्दै कांग्रेसको पौडेल पक्ष

ramchandra
फाइल फोटो

नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक आज बस्दैछ । क्रियाशील सदस्यता विवाद, आगामी महाधिवेशन र सरकारका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

दिउँसो २ बजेपछि नेता प्रकाशमान सिंहको निवास चाक्सिबारीमा बस्ने बैठकमा महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडुलगायतको उपस्थिति रहनेछ ।

बैठकमा मन्त्रिपरिषद्‍मा आफ्नो समूहको सम्मानजनक उपस्थितिबारे पनि छलफल हुने बताइएको छ । पौडेल पक्षले सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा ४ मन्त्रालय पाउनुपर्ने दावी गरिरहेको छ ।

सभापति देउवाले भने अहिलेसम्म यसबारे औपचारिक परामर्श नगरेको बुझिएको छ । कांग्रेसमा क्रियाशील सदस्यताको विवादका कारण आगामी भदौमा तय भएको १४ औं महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको छ ।

यसपटक महाधिवेशन गर्नै पर्ने बाध्यताका बीच पार्टी सभापति शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त हुनुभएको छ । देउवा सरकार सन्चालन र महाधिवेशन दुवैको दबाबमा हुनुहुन्छ ।

प्रधानमन्त्री पद सम्हालेको तीन हप्ता बितिसक्दा पनि उहाँले मन्त्रिपरिषद विस्तार गर्न सक्नु भएको छैन ।