२२ बैशाख २०८१, शनिबार

‘मन्त्रीले गलत काम गर्न लागे कर्मचारीले रोक्नुपर्छ’

janardhan

अर्थमन्त्री जनार्दन शर्माले मन्त्रीले राजनीतिक नेतृत्वले गलत काम गर्न लागे कर्मचारीले त्यसो नगर्न राजनीतिक नेतृत्वलाई भन्न सक्नुपर्ने बताउनुभएको छ ।

अर्थ मन्त्रालयबाट प्रधानमन्त्रीको कार्यालयमा सरुवा हुनुभएका सचिव शिशिरकुमार ढुङ्गानाको बिदाइ र नवनियुक्त अर्थ सचिव मधुकुमार मरासिनीको पदबहाली कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो ।

मन्त्री शर्माले भन्नुभयो, “मन्त्रीले जान वा अन्जानमा देशलाई घाटा हुने कुनै कुरा ग-यो भने त्यसलाई सीधै हुँदैन भन्न सक्नुपर्छ, म त्यस्तो कर्मचारी चाहन्छु । ”

अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार उहाँले मन्त्रालयमा टेबुल टेबुलको शासन चलाएर नहुने भन्दै अत्यावश्यकीयमहत्त्वपूर्ण विषयहरूमा एउटै टेबुलमा बसेर छिटो छिटो काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिनुभयो । अबका दिनमा थोरै समय मात्र सुतेर बाँकी सम्पूर्ण समय आफूसँगै रहेर मन्त्रालयको काममा खट्न उहाँले आग्रह गर्नुभयो ।

आन्तरिक स्रोत बढाउने र ऋण तथा व्यापार घाटा घटाउने मुख्य कार्यभार सम्पन्न गर्न निकै मेहनत गर्नुपर्ने भन्दै मन्त्री शर्माले अन्य विभागीय प्रमुखसहित सबै कर्मचारीले समेत सोही स्प्रिटलाई मनन गर्न निर्देशन दिनुभयो ।

पदबहालीपछि नवनियुक्त अर्थ सचिव मरासिनीले साना तथा मझौला उद्योगको प्रवद्र्धनमार्फत रोजगारी वृद्धि गरेर अर्थतन्त्र चलायमान बनाउने दिशामा मेहनतपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जापानी अर्थतन्त्रमा साना तथा मझौला उद्योग–व्यवसायको ७० प्रतिशत योगदान गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले यस्ता उद्योगले देशमा बेरोजगारी र गरिबीको अन्त्य गर्न सहयोग पु-याउने धारणा व्यक्त गर्नुभयो ।

निवर्तमान अर्थसचिव ढुङ्गानाले कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर बिस्तारै घट्दै गइरहेको भन्दै चिन्ता गर्नुपर्ने अवस्था नरहेको प्रस्ट पार्नुभयो ।

कोभिड महामारीकै बीच राजस्व सङ्कलनको लक्ष्य ९२ प्रतिशत पूरा भएको, १० महिनाको कारोबार धान्न सक्ने गरी वैदेशिक मुद्राको सञ्चिति रहेको, विप्रेषण वृद्धि हुनुका साथै औपचारिक च्यानलमा आएको, निर्यात वृद्धि भएकोलगायतका सकारात्मक परिसूचकसहित आफूले जिम्मेवारी हस्तान्तरण गरेको बताउनुभयो ।

अर्थ मन्त्रालय र मातहतका निकायहरूमा १३ वर्ष नौ महिना काम गर्नुभएका सचिव ढुङ्गानाले आगामी दिनमा सामना गर्नुपर्ने चुनौतीबारे चर्चा गर्दै अन्तरसरकारी वित्तीय हस्तान्तरणलाई व्यवस्थित गर्नुपर्ने, सार्वजनिक संस्थानहरूको व्यवस्थापन, सैनिक कल्याणकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतसँग रहेका ठूला कोषहरूको सन्तुलित व्यवस्थापन, पुँजी बजारमा डिबेन्चर मार्केटको प्रवद्र्धन, आन्तरिक स्रोत व्यवस्थापन, पुँजीगत खर्च वृद्धिलगायतमा ध्यान केन्द्रित गर्नुुपर्ने सुझाव दिनुभयो ।

राजस्व सचिव रामशरण पुडासैनीले अनुभवी र योग्य सचिव शिशिरकुमार ढुङ्गानाको बिदाइले अर्थ मन्त्रालयमा सिर्जना हुनसक्ने अन्तरलाई २५ वर्ष अर्थ मन्त्रालय र सम्बद्ध निकायमा काम गरेको अनुभव सँगालेका योग्य सचिव मधुकुमार मरासिनीको आगमनले पूर्ति गर्ने विश्वास व्यक्त गर्नुभयो । राजस्व सचिव पुडासैनी साउन २४ गते शनिबारदेखि सेवा निवृत्त हुनुहुँदै छ ।