२६ बैशाख २०८१, बुधबार

भारतबाट पाँच बालकको उद्धार, दुई वर्षदेखि अभिभावकबाट सम्पर्कविहीन

Balak1627704869

झापा- भारतको विभिन्न स्थानबाट दुई वर्षदेखि अभिभावकसँग सम्पर्कविहीन रहेका पाँच बालकको उद्धार गरिएको छ ।

विश्व सेवा विस्तार संस्थाले भारतको कलकत्तास्थित नेपाली महावाणिज्य दूतावाससँगको सहकार्यमा उद्धार गरेका पाँचमध्ये चार जना मेचीनगर नगरपालिका र एक जना दमकको रहेको जनाएको छ ।

शुक्रबार उद्धार गरिएका बालकमा मेचीनगर–१ गाडागल्लीका १६ वर्षीय अनिश विश्वकर्मा र १४ वर्षीय महेश विश्वकर्मा, मेचीनगर–५, अधेरीका १५ वर्षीय नवीन लिम्बू र १६ वर्षीय रोमन कटुवाल र दमकका १४ वर्षीय खेम राजवंशी रहेका संस्थाका कोअर्डिनेटर कुमार बस्नेतले बताए।

२०७६ साल मंसिर २८ गते शनिबारदेखि अभिभावकको सम्पर्कविहीन अवस्थामा रहेका मेचीनगरका चार जना तथा दमकका एक जना बालकको उद्धार गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।

भारतको कलकत्तास्थित नेपाली महावाणिज्य दूतावाससँगको सहकार्यमा विश्व सेवा विस्तार संस्थाले त्यहाँ रहेको बालगृहमा रहेका बालकहरुको उद्धार गरेको संस्थाका संयोजक कुमार बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार महावाणिज्य दूतावासका राजदूत शतिसकुमार थापाको सहयोगमा बालकहरूको उद्धार गरिएको हो।

उद्धार गरिएका सबैलाई शुक्रबार नै परिवारको जिम्मा लगाइएको छ । उद्धार गरी ल्याइएका बालकले आफूहरु २०५६ सालमा घुम्नका लागि भारत गएका बेला आफूहरुलाई नियन्त्रणमा लिएर भारतको पश्चिम बङ्गालस्थित जलपाइगुडी जिल्लाको एक बालगृहमा लगिएको बताएका छन् ।

पत्रकार सम्मेलनमा बालकहरूका अभिभावकहरुले झण्डै दुई वर्षदेखि हराइ रहेका आफ्ना छोराहरूको उद्धार गरेकोमा विश्व सेवा विस्तार समाजप्रति आभार प्रकट गरे।

सो अवसरमा उद्धार गरी ल्याइएका बालकहरुले आफूहरू घुम्नका लागि भारत गएका बेला नियन्त्रणमा लिएर भारतको पश्चिम बंगालस्थित जलपाइगुडी जिल्लाको एक बाल गृहमा लगिएको बताए।

१८ महिनाअघिदेखि हराइरहेको आफ्नो नातिलाई देख्न/भेट्न पाउँदा आफू अत्यन्तै हर्षित भएको मेचीनगर-१, गाडागल्लीका उद्धार गरिएका बालकका हजुरबुवा खड्गबहादुर विश्वकर्माले बताए।

‘हामीहरू कुनै दिन नाति फर्केर आउँला भन्ने आशामा थियौं,’ आँखाभरि आँशु पार्दै विश्वकर्माले भने, ‘आज त्यो पर्खाइको समय सकिएको छ, यसमा विगत दुई महिनादेखि अहोरात्र खटिएर उद्धारमा लागिदिने विश्व सेवा विस्तार संस्थालाई हामी धन्यवाद दिन्छौं।’

विश्व सेवा विस्तारले विगत पाँच वर्षदेखि झापाको काँकरभिट्टा तथा भद्रपुरस्थित सीमा नाकामा रहेर चेलबेटी बेचविखन तथा बाल अधिकारको क्षेत्रमा रहेर गतिविधि सञ्चालन गर्दै आइरहेको छ।