१४ बैशाख २०८१, शुक्रबार

दार्चुला प्रशासनद्वारा भारतीय समकक्षीसँग पत्राचार

tuin

दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर २ राप्लाको मालमा तुइन तर्ने क्रममा भारतीय सुरक्षा बल (एसएसबी) का जवानले तुइन काटिदिँदा खसेर महाकाली नदीमा केपत्ता भएका एक नेपालीको बारेमा दार्चुला प्रशासनले चासो व्यक्त गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ जिल्लाधिकारीलाई गम्भीर ध्यानाकर्षण भएको भन्दै पत्राचार गरेको छ । घटनाबारे छानबिन गरी आवश्यक कारबाहीका लागि प्रमुख जिल्ला अधिकारीले भारतको पिथौरागढ जिल्लाका समकक्षी आनन्द स्वरुपलाई पत्राचार गरेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीले बताउनुभयो ।

बेपत्ता भएका व्यक्ति भने अझैँ भेटिएका छैनन् । ब्याँस गाउँपालिका वडा नम्बर २ मालका स्थानीय वर्ष अन्दाजी ३५ का जयसिंह धामी तुइन तरेर भारततिर जाने बेलामा हिजो भारतीय सुरक्षा बल (एसएसबी) का जवानले तुइन काटिदिँदा ताक्लोसहित महाकाली नदीमा खसेको प्रत्यक्षदर्शी विक्रम रोङकलीले बताउनुभयो ।

धामी तुइन तर्ने बेला प्रत्यक्षदर्शीहरु विक्रम रोङकली, अनिता धामी र कल्यान सिंह धामी नेपालतिर थिए । ओर्लिन एक दुई पाइला मात्रै बाँकी रहँदा त्यहाँ पुगेका दुई जना एसएसबीका जवानले तुइन काटिदिएको प्रत्यक्षदर्शीको भनाइ छ ।

धामी महाकाली नदीमा बेपत्ता भएसँगै दुबै जना एसएसबीका जवान घट्नास्थलबाट भागेको प्रत्यक्षदर्शीको भनाइ छ । कोही खाद्यान्न ल्याउन भारत जाने र कोही सदरमुकाम खलङ्गा आउने कामले तुइन तरेर भारतको बाटो प्रयोग गर्ने गरेका छन् ।

५÷६ जना तुइन तरेर पारिपुगिसकेका थिए । धामी महाकाली नदीमा केपत्ता भएको एकिन भएपनि घट्ना कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले बताउनुभयो ।

नेपालतिरको माल र भारतको गस्कु क्षेत्रमा यसअघि नै झोलुङ्गे पुल निर्माणको ठेक्का भई निर्माण कार्य हुरु भएपनि हालसम्म पुल निर्माण हुन नसक्दा तुइनको जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीय शिक्षक हरकसिंह कार्कीको गुनासो छ ।