१४ बैशाख २०८१, शुक्रबार

सर्लाहीका उखु किसान पाँचौ पटक उत्रे आन्दोलनमा

ukhu kishan 750x375 1

उखु बिक्री गरेको रकम उद्योगले अझै नदिएपछि किसानहरु पुन आन्दोलनका लागि काठमाडौं आएका छन् ।

सरकार र उद्योगीले प्रतिवद्धता जनाएअनुसार रकम नदिएपछि एउटै विषय लिएर पाँचौ पटक काठमाडौं आएको उखु किसान संघर्ष समिति सर्लाहीले जनाएको छ ।

६ वटा उखु मिलबाट किसानले ४१ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको समितिका सचिव हरेश्याम राय यादवले दाबी गरे । सरकार नयाँ भएकाले बक्यौता उठाइदिन आग्रह गर्ने र त्यसपछि पनि रकम नउठे आन्दोलनका कार्यक्रम घोषणा गर्ने समितिले जनाएको छ ।

सचिव यादवका अनुसार अन्नपूर्ण चिनी मिलबाट ९ करोड, श्रीराम सुगर मिलबाट ८ करोड, इन्दीरा चिनी मिलबाट २ करोड र लुम्बिनी चिनी मिलबाट तीन करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ । यस्तै सरकारले उखु किसानलाई अनुदान दिएको तर उद्योगले हिसाब मिलान नगरेको साढे ६ करोड हाराहारी रकम किसानले पाउन बाँकी रहेको यादवले बताए ।

किसानको बक्यौता विवाद हेरिरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने किसानहरुको एक रुपैयाँ पनि बक्यौता बाँकी नरहेको दाबी गरेको छ । यसअघिको बार्तामै किसानको सबै भुक्तानी भइसकेको मन्त्रालय प्रवक्ता डा.नारायणप्रसाद रेग्मीले बताए ।

भुक्तानी बाँकी रहेको जिल्लाको जिल्ला प्रशासन र उद्योगीहरुले पनि किसानको सबै भुक्तानी भइसकेको जानकारी मन्त्रालयमा पठाएको प्रवक्ता रेग्मीले बताए ।