७ बैशाख २०८१, शुक्रबार

जेलमा रहेका रेशम चौधरीसहित ३६ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति बनाउने जसपाको निर्णय

jasapa miting 69

जनता समाजवादी पार्टीले जेलमा रहेका रेशम चौधरीसहित ३६ सदस्यीय केन्द्रीय कार्यकारिणी बनाउने निर्णय गरेको छ ।

उक्त पार्टीको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगमा सनाखतका बेला तटस्थ बसेका चौधरीलाई पनि समेटेर अघि बढ्ने निर्णय गरेको हो ।

तटस्थ बसेका चौधरीले पार्टीमा बस्ने भनेर खबर पठाएकाले केन्द्रीय कार्यकारिणीमा समावेश गरिएको पार्टीका प्रवक्ता डम्बर खतिवडाले बताउनुभयो । बैठकले एकता प्रक्रियामा आएका शिवलाल थापा मगरलाई पनि केन्द्रीय कार्यकारिणीमा मनोनित गरेको छ ।

निर्वाचन आयोगमा आफ्नो पक्षमा उभिएका ३४ तथा चौधरी र थापासहित जसपाको केन्द्रीय कार्यकारिणी ३६ सदस्यीय बनाइएको छ । ठाकुर पक्षका १६ जना पार्टीबाट हटेका छन् ।

बैठकले निस्कासन गरेको नभइ आयोगको निर्णयले नै ठाकुर समूह पार्टीबाट बाहिरिएको प्रवक्ता खतिवडाले बताउनुभयो ।

आजको बैठकमा सरकारमा सहभागिताबारे छलफल भए पनि मन्त्रालय बाँडफाँट भएपछि मात्रै पार्टीबाट सहभागी हुने मन्त्रीको नाम तय गर्ने सहमति भएको उहाँले बताउनुभयो ।