४ आश्विन २०७८, सोमबार

महन्थ ठाकुर जसपाको अध्यक्षबाट हटे, संसद पदपनि धरापमा

upendra mahanta
फाइल फोटो

निर्वाचन आयोगले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)लाई आधिकारिकता दिएसँगै महन्थ ठाकुर अध्यक्षबाट हटेका छन्। जसपामा दुई अध्यक्ष रहेका थिए। असार ४ गते यादव पक्षले आधिकारिकताको दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो।

यादवको निवेदनलाई आयोगले सोमबार मान्यता दिएको छ। जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका थिए। कार्यकारिणी सदस्य रेशम चौधरी भने तटस्थ बसेका थिए। बहुमत कार्यकारिणी सदस्य यादवको पक्षमा रहेकाले आयोगले यादव नेतृत्वको जसपालाई आधिकारिकता दिएको हो।

यादव पक्षले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरु सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निश्कासन गरेको थियो। त्यो कार्बाहीलाई भने आयोगले मान्यता नदिने निर्णय जेठ ३० मा गरेको थियो।

जेठ ३० को निर्णयलाई नै आयोगले निरन्तरता दिएको छ। अब कारबाही गर्नुपरेमा विधि पुर्याएर कार्बाही गर्ने बाटो समेत आयोगले खोलिदिएको छ। आयोगले ठाकुर पक्षलाई नयाँ दल दर्ता गर्न सक्ने फैसला गरेको छ। आयोगको फैसला अनुसार ठाकुर पक्षले नयाँ दल दर्ता गर्न सक्नेछ। त्यस्तो अवस्थामा ठाकुर पक्षका सांसदहरुको पद भने जाने निश्चित छ।