१५ चैत्र २०८०, बिहीबार

आधिकारिकता पाएपछि भट्टराई–यादव पक्ष उत्साहित, ठाकुर पक्ष आयोगप्रति आक्रोशित

jasapa bibad
फाइल फोटो

पार्टीका आधिकारिकता पाएपछि डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष उत्साहित भएको छ भने महन्थ ठाकुर पक्ष निराश र आक्रामक देखिएको छ । ठाकुर पक्षले निर्वाचन आयोगप्रति आक्रोश व्यक्त गर्दै नयाँ शक्ति निर्माण गर्ने बताएको छ ।

निर्वाचन आयोगमा पत्रकारसित कुरा गर्दै अध्यक्ष उपेन्द्र यादवले गल्ती स्वीकारेर पार्टीमै काम गर्न महन्थ ठाकुर पक्षलाई आग्रह गर्नुभयो । संसद विघटन लगायतका प्रतिगामी कदमलाई गरेको समर्थन गलत थियो भनेर स्वीकार गरे सँगै जान सकिने यादवले बताउनुभयो ।

भट्टराई–यादव पक्षकै अर्का नेता महिन्द्र राय यादवले अब पार्टीको बैठक बसेर महन्थ ठाकुर लगायतका नेताका विषयमा थप निर्णय गर्ने बताउनुभयो । तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगामी कदमको समर्थन गरेकोमा त्यसलाई गल्ती मानेर आएमा पार्टीमा ठाउँ दिने बताउनुभयो ।

तर ठाकुर पक्षले भने आफूहरुले गल्ती नगरेको भन्दै माफी नमाग्ने बताएको छ । उसले निर्वाचन आयोगप्रति आक्रोश पोखेको छ । जसपाका नेता राजेन्द्र महतोले निर्वाचन आयोगले पार्टी फोरिदिएको भन्दै जनतामा गएर नयाँ शक्ति निर्माण गर्ने बताउनुभयो । महतोले अब नयाँ बाटो हिंडने प्रष्ट पार्नुभयो ।

ठाकुर पक्षका अर्का नेता शरतसिंह भण्डारीले गल्ती नगरेकाले आत्मग्लानी हुनुपर्ने कुनै कारण नभएको भन्दै अलगै हिड्ने प्रष्ट पार्नुभयो ।

भण्डारीले हिजोसम्म आफ्नो समूहमा रहेका नेताहरु आज अर्को समूहमा गएकोमा आक्रोश व्यक्त गर्नुभयो ।