
जसपा आधिकारिकता विवादमा सनाखत गर्न जेलबाट सीधै निर्वाचन आयोगमा पुगेका रेशमलाल चौधरी दुवै पक्षमा सनाखत नगरी तटस्थ बसेका छन् ।
उनले महाभारतको युद्दको प्रसंग जोड्दै महन्थ ठाकुर भिष्म पितामहतको संज्ञा दिएर उनले आफू दुवै पक्षमा नलागेको बताए ।
जसपा आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि आयोगले दुवै समूहलाई ‘हेड काउन्ट’ का लागि आयोगमा उपस्थित हुन भनेपछि रेशम चौधरी डिल्ली बजार कारागारबाट निर्वाचन आयोग पुगेका हुन् । उनलाई कडा सुरक्षाकाबीच आयोगको कार्यालय लगिएको हो।
चौधरीले आफ्नो नैतिकताले पक्ष विपक्षमा सनाखत गर्न नदिएको बताए । उनले आफ्नो पक्ष र विपक्ष दुवै जसपा भएको बताए। ‘आज जेलबाट आएर आएर पक्ष विपक्षमा सनाखत गर्न नैतिकताले दिएन,’ उनले भने, ‘मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो ।’
आयोगबाट निस्किदै गर्दा चौधरीले नबोल्ने मान्छेले न्याय नपाउने रहेछ भन्दै आफ्नो रिहाइका लागि आग्रह गरे । हात जोड्दै उनले भने,‘ न्याय न्याय न्याय।’
कैलालीको टीकापुर हत्याकाण्डको मु्ख्य दोषी आरोपमा पनि डिल्लीबजार कारागारमा सजाय काटिरहेका छन्। जेलमा रहेका उनलाई जसपाको विवाद निरुपणमा मत दिन गृह मन्त्रालयले अनुमति दिएको हो ।