१४ बैशाख २०८१, शुक्रबार

कांग्रेस उपसभापति निधिद्वारा नदीले गरेको कटानको अनुगमन

nidhi anugaman

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कमला नदीले धनुषातर्फ निर्माण भएको तटबन्धमा गरेको कटानको स्थलगत अनुगमन गर्नुभएको छ ।

कमला नदिमा आएको बाढीका कारणले धनुषाको सवैला नगरपालिका–१३ किरतपुर सहितको ठाउँमा करिब ७ सय मिटरमा तटबन्ध नै कटान गरेर बस्ती जोखिममा परेपछि उपसभापति निधिले स्थलगत अनुगमन गरेर कटान रोक्नका लागि भएको प्रयासबारे जानकारी लिनुभयो ।

कमला नदीले बाँध कटान गरेपछि धनुषाको सवैला, कमला, शहिदनगर नगरपालिका तथा जनकनन्दनी गाउँपालिका उच्च जोखिममा परेका छन् । उपसभापति निधिलाई कमला नदी नियन्त्रण आयोजना जनकपुरधामका प्रमुख डिभिजनल इन्जिनियर एकराज भट्टराईले प्राविधिक पक्षको बारेमा जानकारी दिनुभयो ।

उपसभापति निधिले बाँध कटान नियन्त्रणका लागि श्रोत साधनको कमी हुन नदिने बताउनुभयो । उहाँले कमला नदीलवाट हुन सक्ने क्षतिबाट आम जनता जोगाउनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

यसैगरि नेता निधिले सप्तरीमा बलान नदीले गरेको कटान र त्यसबाट उत्पन्न समस्याबारे जानकारी लिनुभयो । स्थानीयवासीले बलान नदीवाट भोग्नुपरेका समस्या उपसभापति निधिलाई सुनाउनुभएको थियो ।

नदीले गरेको कटानबाट भएको क्षतिबारे जानकारी लिन प्रदेश नंं २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री राम सरोज यादव पनि पुग्नुभएको थियो ।