११ बैशाख २०८१, मंगलवार

दिक्तेलबजारभित्रको सडक हिड्नै नसकिने गरी हिलाम्मे, ठेक्का लागेको महिना दिन गुज्रियो भएन काम

road diktel scaled 1

चिसाङ शेर्पा

खोटाङ, ठेक्का पारेर निर्माण व्यवसायीले सडक ढलान नगर्दा खोटाङको सदरमुकाम दिक्तेलबजारभित्रको सडक हिलाम्मे हुने गरेको छ।

निर्माण व्यवसायीले काम नगर्दा सदरमुकाम तथा हालको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र दिक्तेलबजारको बाँकी सडक हिड्नै नसकिने गरी हिलाम्मे हुने गरेको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारको सिंचाई गेटदेखि नेपाल दुर सञ्चार शाखा कार्यालय भानुचोकसम्मको कच्ची सडक ढलानको ठेक्का सुर्य विकास जेभी लाहानले पारेको छ। सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको २ करोड ६८ लाख वजेटमा ठेक्का पारेको जेभीले १० असारमा उक्त कार्यालयसँग सम्झौता गरिसकेको छ। सम्झौता अनुसार जेभीले आगामी मंसिर २० गतेभित्र सडक ढलान गरिसक्नुर्नेछ।

सम्झौता गरेको महिना दिन बित्दा पनि निर्माण कम्पनीले काम गर्न सुरसार गरेको छैन। जनशक्ति तयारी गर्दै गरेको र बढीमा १० दिनबाट काम सुरु गरिने निर्माण कम्पनी सुर्य विकास जेभीका प्रतिनिधि दिनेश कुमार साहले बताए। जसरी पनि १० दिनबाट काम सुरु हुने साहले दाबि गरे। निर्माण कम्पनीले ७६४ घनमिटर ढलान र ४५३ घनमिटर ग्याभिङ वालको काम गर्नुपर्नेछ।

बाँकी बजार ढलनाका निम्ति धेरै पटक दौडधुप गरेर बजेट व्यवस्थापन गरियो, टेण्डर पनि भयो, सम्झौता भईसकेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले भने, ‘अब सम्बन्धित कन्ट्रयाक्टरलाई समयमा काम गराउनका लागि सहजीकरण गर्ने र काम नगरेमा वजेट रोक्का गरिनेछ।’

सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको सडक ढलानका लागि वजेटको टुंगो लागेर सम्पूर्ण प्रक्रिया पूरा भए पनि निर्माण कम्पनीले काममा बेवास्ता गर्दै आएको छ। ठेक्का पारेर बेलैमा काम सुरु नगर्दा बजारभित्रको सडकमा पानी जम्ने र हिलाम्मे हुने गरेको छ। बर्खामा सर्वसाधारणलाई आवतजावत गर्न झनै सकस भईरहेको छ।