१८ बैशाख २०८१, मंगलवार

दिक्तेल हाटडाँडाका स्थानीयले तत्काल सडक कालोपत्रेको काम सुचारु नभए मेयर-उपमेयरलाई नै थुन्ने चेतावनी दिए

ultimatum for diktel bazar dhalan khotang
फाइल फोटो

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाका स्थानीयले दिक्तेल–आहाले सडक (१०.९७४ किलोमिटर) कालोपत्रेको काम तत्काल सुचारु नगराए नगरप्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतलाई कार्यालयमा थुन्ने चेतावनी दिएका छन् ।

स्थानीय हाटडाँडा टोल पुर्वाधार विकास तथा व्यवस्थापन प्रवद्र्धन समितिको अगुवाईमा गएको स्थानीयले गत १९ भदौमा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र वडा कार्यालयलाई ज्ञापन–पत्र बुझाउँदै सडक कालोपत्रेको अवरुद्ध काम तत्काल सुचारु गर्न/गराउन माग गरेका थिए । सो मागको सुनुवाई नभएको भन्दै दिपेन्द्र बस्नेत, बिनोद खड्का लगायतका स्थानीय युवाले बिहिबार मेयर तीर्थराज भट्टराईलाई ज्ञापन–पत्र बुझाउँदै सडक कालोपत्रेको काम यथाशिघ्र सुचारु नगराए हड्तालमा उत्रने चेतावनी दिएका हुन् ।

ज्ञापन–पत्रमा कालोपत्रेको काम तत्काल सुरु नभए दिक्तेलबजारमा सवारी आवागमन बन्द गर्ने, हड्ताल गर्नेदेखि नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा थुन्नेसम्ममा आन्दोलन गर्ने उल्लेख गरेका छन् । कालोपत्रेको काम अलपत्र हुँदा स्थानीयलाई हिँडडुल गर्नै नहुनेगरी वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडक भएको बस्नेतले बताए । यस्तै कालिका मन्दीर र महादेवगुफा जानेआउने दर्शनार्थीलाई समेत असहज भइरहेको जनाइएको छ । मेयर भट्टराईले ‘आफैलाई थुन्ने’ ज्ञापन–पत्र मुसुमुसु हाँस्दै बुझेका थिए ।

२०७५ सालमा १८ महिनाभित्र पूरा गर्नेगरी ठेक्का लागेको डिबिएसटी कालोपत्रेको काम अलपत्र परेपछि स्थानीय बिरोधमा उत्रिएका हुन् । पटक–पटक म्याद थप गर्दा पनि निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीले कालोपत्रेको काम अलपत्र पारेको भन्दै स्थानीयले गत २६ भदौभित्र काम सुचारु गराउनका लागि ध्यानाकर्षण गराएका थिए । तर ध्यानाकर्षण बुझाएको दुई महिना बितिसक्दा पनि काम अघि नबढेको स्थानीयले बताएका छन् ।

दिक्तेलबाट खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाईघाट जोड्ने छोटो दुरीको मार्गका रुपमा स्थापित हुने सडक राष्ट्रिय पुःननिर्माण प्राधिकरणको भ्याट सहित २१ करोड १ लाख ८८ हजार खर्चमा कालोपत्रे सुरु गरिएको हो । निर्माण कम्पनीले २०७६ साल चैत ७ गतेभित्र सम्पन्न गर्नेगरी २०७५ साल असोज १ गते सडक कालोपत्रेको सम्झौता गरेको थियो । तर हालसम्म कालोपत्रेको करिब ६० प्रतिशत मात्र प्रगती भएको छ ।

दिक्तेलको अस्पतालचोकबाट खानीडाँडा बिमानस्थल हुँदै रेग्मीटार पुग्ने सडकको दिक्तेलतर्फबाट ९ जेठ २०७८ देखि आरसिसि ढलान सुरु गरिएको थियो । अस्पतालचोकबाट हाटडाँडा (केशव बस्नेतको घर)सम्म आरसिसि ढलान तथा सो स्थानदेखि आहालेसम्मको खण्डमा डिबिएसटी कालोपत्रे गर्ने सम्झौता छ ।

निर्माण कम्पनीले ७ चैत २०७६ सम्मको म्याद गुजारेपछि २९ बैसाख २०७८ सम्मका लागि प्रथम पटक म्याद थप गरिएको थियो । सडक कालोपत्रेको काममा ढिलासुस्ती भएपछि निर्माण कम्पनीका प्रमुख शिवप्रसाद चौंलागाईलाई ५ कात्तिक २०७६ मा दिक्तेलमा आयोजना गरिएको बैठकमा बोलाइएको थियो । तर, चौंलागाईले गरेका प्रतिवद्धता अनुशार काममा प्रगती भएनन् । प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले १ मंसिर २०७५ मा आयोजना शिलान्यास गरेका थिए ।

राष्ट्रिय पुन:निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार)को कार्यालय खोटाङले सो आयोजना हेर्दैआएको थियो । सो कार्यालयलाई प्राधिकरणले स्थानीय पुर्वाधार बिभाग (डोली)लाई हस्तान्तरण गरेपछि काममा समस्या भएको निर्माण कम्पनीका प्रतिनिधि खगेन्द्र राईले बताए ।