१४ बैशाख २०८१, शुक्रबार

आन्तरिक यात्राका लागि श्रीमतीको भेषमा सङ्क्रमित विमान चढे

119543895 getty

श्रीमतीको भेषमा इन्डोनेशियाको आन्तरिक यात्राका लागि विमान चढेका एक कोभिड सङ्क्रमित व्यक्तिलाई उडानकै क्रममा आकाशमै पहिचान गरिएको छ।

डीडब्ल्यू भनिएका ती व्यक्तिले श्रीमतीको राहदानी र कोभिड परीक्षण रिपोर्ट लिएर अनुहार पूरै छोपिने निकाब लगाएर विमानस्थलमा अधिकारीहरूलाई झुक्क्याएका थिए।

उनले उडानको बीचमै निकाब खोलेर पुरुषको कपडा लगाएपछि विमान परिचारिकाहरू सशङ्कित भएका थिए। इन्डोनेशियामा जुलाई १९ मा सुरु भएको इदको बेला धेरै वायुसेवाले यात्रामा कडाइ गरेका छन्।

प्रहरीले ती व्यक्तिलाई विमान अवतरण हुने बित्तिकै पक्राउ गरेर कोभिड परीक्षण गरिएको बताएका छन्। कोभिड सङ्क्रमित भएको पत्ता लागेपछि उनलाई घरमै आइसोलेशनमा राखिएको छ।

प्रहरीले उनको क्वारन्टीन अवधि सकिएपछि उनीमाथि मुद्दा चलाउने बताएको छ। एशियामा कोरोनाभाइरसको केन्द्रबिन्दु बनिरहेको इन्डोनेशियामा यात्रामा कडा प्रतिबन्धहरू लगाइएको छ।

दक्षिण पूर्वी एशियाको यो देशमा दैनिक औसतमा ५०,००० जना कोभिड सङ्क्रमित थपिइरहेका छन्। हालैका साताहरूमा त्यहाँ बिरामीको बढ्दो सङ्ख्याका कारण अस्पतालहरूमा दबाव परेको र अक्सिजनजस्ता स्वास्थ्य सामग्रीको अभाव भएको बताइएको छ।

इन्डोनेशियामा झन्डै ३० लाख मानिस सङ्क्रमित भएको र ७२,००० भन्दा बढीको मृत्यु भइसकेको छ। डेल्टा भेरिअन्टले गर्दा कोभिड फैलिरहेको त्यहाँ खोप कार्यक्रम सुस्त रहेको छ।