७ बैशाख २०८१, शुक्रबार

नेपाल एयरलाइन्सलाई पब्लिक कम्पनीको रुपमा सञ्चालन गर्ने सरकारको अवधारण

nepal airlines

सरकारले नेपाल एयरलाइन्सलाई पब्लिक कम्पनी लिमिटेडको रुपमा सञ्चालन गर्ने अवधारण अघि बढाएको छ ।

नेपाल एयरलाइन्सलाई घाटाबाट बचाउन सरकारले कम्पनी लिमिटेडमा परिवर्तन गरी अन्तर्राष्ट्रिय एयरलाइन्सहरुसंगको साझेदारीमा सञ्चालन गर्ने अवधारण अघि सारेको हो ।

राष्ट्रिय ध्वजावाहक एयरलाइन्सको रुपमा नेपाल एयरलाइन्समा कम्तीमा ५१ प्रतिशत शेयर स्वामित्व सरकारको हुने गरी कम्पनी लिमिटेडको रुपमा विकास गर्ने अवधारणा अघि सारेको अर्थ मन्त्रालयले जनाएको छ ।

एयरलाइन्सको पुनर्संरचना गरी कम्पनी लिमिटेडमा लैजाने चालु आर्थिक वर्षको बजेटको व्यवस्था बमोजिम अर्थ मन्त्रालयले नेपाल एयरलाइन्सको उच्च व्यवस्थापनसँग छलफल गरेर गत जेठ २८ गते एयरलाइन्सलाई विभिन्न ३ बुँदे निर्देशन दिएको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले जानकारी दिनुभयो ।

अर्थ मन्त्रालयले निगमको सङ्गठन पुनर्संरचना गरी व्यावसायिक एवं प्रतिस्पर्धी बनाइने, खुल्ला प्रतिस्पर्धाको माध्यमबाट रणनीतिक साझेदार भित्र्याउने प्रक्रिया सुरु गर्ने र निगमको शेयर संरचना परिवर्तन गरी वृद्धि गर्ने नीतिगत व्यवस्था बमोजिम आवश्यक अवधारण पत्र सहित कार्यान्वयन कार्य योजना बनाई असार १५ गतेभित्र अर्थ मन्त्रालयमा पेस गर्न निर्देशन दिएको थियो । कम्पनी मोडलमा रूपान्तरण गर्न यथाशीघ्र डिउ जेलिजेन्स अडिट गर्न समेत मन्त्रालयले भनेको छ ।

त्यसै गरी निगमको पुनर्संरचना गर्नका लागि प्रबन्ध पत्र तथा नियमावलीको मस्यौदा तयार गरी लिमिटेड कम्पनीमा रूपान्तरण गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत असार १५ गतेभित्र अर्थ मन्त्रालयमा पेस गर्न भनिएको छ ।

साथै मन्त्रालयले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट नेपाल वायु सेवा निगममा गरेको ऋण लगानीमा हाल दिँदै आएको ब्याजदर र हर्जाना सम्बन्धमा पुनर्विचार गर्न तीनै पक्षबिच आपसी समन्वय गरी गत आर्थिक वर्षको ब्याज र दायित्वको यकिन गर्न पनि मन्त्रालयले निगमलाई निर्देशन दिएको छ ।