१३ बैशाख २०८१, बिहीबार

काँग्रेस पार्टी कार्यालय जनकपुरमा पनि अनसन

dharnaa 750x375 1

जनकपुरधाम । क्रियाशिल सदस्यता वितरणमा धाँधली भएको भन्दै काँग्रेस केन्द्रिय कार्यालय काठमाडौंमा अनसन बसेका पूर्व साँसद चन्द्रमोहन यादवको समर्थनमा जनकपुरमा पनि अनसन सुरु गरिएको छ ।

जनकपुरस्थित जिल्ला पार्टी कार्यालयमा बिहीवार मध्यान्हदेखि नेता नबल किशोर यादवको अध्यक्षतामा रिले अनसन सुरु गरिएको हो । नेताहरु संजय यादव, संजिव यादव, नरेश यादव, मुकेश यादव, प्रमेश्वर ठाकुर, आनन्द कुमार यादव लगायतले अनसन सुरु गरेका छन् ।

धाँधली गरि वितरण गरिएको क्रियाशिल सदस्यता खारेज गर्नुपर्ने उनीहरुको पनि माग छ । धनुषा क्षेत्र नम्बर १ र ४ मा पुरानो कार्यकर्तालाई क्रियाशिल सदस्यता नदिएको र आफ्ना पक्कड र नातागोतामा पर्नेहरुलाई वितरण गरेको विरोधमा पूर्वसाँसद यादव केन्द्रीय कार्यालयमा ५ दिनदेखि आमरण अनसन बसेका छन् ।

उनको स्वास्थ्य अवस्था बिग्रिन लागेपनि पार्टी नेतृत्वले माग सम्बोधन गर्न चासो नदेखाएपछि जनकपुरमा पनि रिले अनसन सुरु गरिएको बताइएको छ । पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरित वितरण गरिएको नयाँ क्रियाशिल सदस्यता खारेज गर्नुपर्ने आफूहरुको एकसुक्रिय माग रहेको रिले अनसनको नेतृत्व गरिरहेका नेता नबल किशोर यादवले बताए ।

सदस्यता विवाद समाधान नभएसम्म अनसन जारी राख्ने उनले चेतावनी समेत दिएका छन् । उनका अनुसार धनुषामा १२ हजार क्रियाशिल सदस्य थिए । यसवर्ष १२ हजार थप्नुपर्नेमा मात्र ७ हजार थपेपछि करिब १९ हजार पुगेको छ ।