२१ बैशाख २०८१, शुक्रबार

जनताले कम्युनिष्ट र गैर कम्युनिष्ट बीचको अन्तर कसरी छुट्याउने, कम्युनिष्ट सरकारमा हुँदा पनि राष्ट्रियतामा सौदाबाजी भयो: चित्रबहादुर केसी

chitra badhur kc

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कम्युनिष्ट सरकारमा हुँदा पनि युवा विदेशीनु परेको र राष्ट्रियतामा सौदाबाजी भएको टिप्पणी गरेका छन् ।

केसीले एकै खालको कार्यशैलीका कारण जनताले कम्युनिष्ट र गैर कम्युनिष्ट पार्टीबीचको अन्तर छुट्याउन नसकेको बताएका छन् ।

पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केसीले कम्युनिष्ट र गैरकम्युनिष्टबीच भिन्नता छुट्याउन गाह्रो भएको बताए।

केसीले भने, ‘गैर कम्युनिष्ट सत्तामा बस्दा पनि गरिबी, अशिक्षा, अन्धकार हुने । कम्युनिष्ट सत्तामा बस्दा पनि त्यही अवस्था रहने । अनि कम्युनिष्ट र गैर कम्युनिष्टबीच जनताले कसरी फरक छुट्याउने ?’

कम्युनिष्ट आन्दोलनमा विश्वव्यापी रुपमा संकट आइरहेको भन्दै उनले त्यसमा निजी सम्पती जोड्ने विषय पनि एक भएको बताए । केसीले भने, ‘कम्युनिष्ट भनिरहने अनि व्यक्तिगत सम्पति कमाइरहने ? यो विश्वव्यापी संकट हो ।’

जनताले पाँच वर्षका लागि सरकार चलाउन दुई तिहाई बहुमत दिएपनि त्यो विश्वासलाई पूरा गर्नबाट कम्युनिष्ट पार्टी चुकेको उनको भनाइ थियो ।

‘अरु प्रतिक्रियावादीको विश्वास पहिल्यै गुमेको अवस्था थियो । नेताहरुले आफूलाई बनाउन राजनीति गरेका छन् । आफू वरपरकालाई बनाएका छन् । कम्युनिष्ट बनेर सम्पत्ति कमाइरहने प्रवृति हावी भएको छ । जसले गर्दा जनताको विश्वास गुम्ने अवस्था आएको छ’ नेता केसीले भने ।

पटक-पटक संसद विघटन गर्ने प्रवृति अन्त्य हुनुपर्ने भन्दै नेता केसीले ५ दलको एकताले संविधान र संसद जोगिएकोले अबको दिनमा संसोधन गरेर अझै उत्कृष्ट संविधान बनाउनु पर्नेमा जोड दिए । सर्वोच्चको फैसला स्वीकार्य रहेको भन्दै उनले राष्ट्रपतिको भूमिका अलोकतान्त्रिक भएको आरोप लगाए ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले विचित्रको काम गरेको उनको भनाइ थियो । जनतालाई कोरोनाबाट जोगाउन खोप उपलब्ध गराउनुपर्ने बेलामा ओली नेतृत्वको सरकारले भोट मागिरहेको र संविधान च्यात्न खोजेपछि संघर्षमा जानुपरेको उनले बताए ।

‘हामीले ओली नेतृत्वको सरकरलाई समर्थन गरेकै हौं, तर तीघ्रामा पिप जम्मा भएपछि निचोरेर फाल्नुपर्छ, पार्टीभित्रकै साथीहरुले संघर्ष गर्नुभयो, ५ दलको एकताले धर्मनिरपेक्षता गणतन्त्र लगायतका उपलब्धीहरुलाई बचाउने काम भएको छ । संसद कम्तिमा पनि १८ महिना बच्ने भयो’ उनले भने ।

एमाले भित्रको एक पक्षले संघर्ष गर्दा संविधान जोगिएको केसीको भनाइ छ । ‘एमाले भित्रका साथीहरुले संघर्षको झण्डा उठाउनु भयो, संविधान जोगाउनु भयो,’ उनले भने, ‘सबैको संयुक्त आवाजले प्रतिगमनले घुँडा टेक्यो ?