८ बैशाख २०८१, शनिबार

‘देउवा परमादेशबाट होइन जनप्रतिनिधिबाट प्रधानमन्त्री बन्नुभएको हो’

60fa8d499fa22 house

प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न दलका नेताहरुले शुभकामना व्यकत गर्नु भएको छ । आजको बैठकमा एमालेका नेता सुवासचन्द्र नेम्वाङ लगायतका नेताले शुभकामना दिनु भएको थियो ।

शुभकामना दिने क्रममा सत्तापक्षी गठबन्धनमा रहनुभएका दलका नेता तथा सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवा सर्वोच्च अदालतको परमादेशबाट नभई जनप्रतिनिधिको मतबाट प्रधानमन्त्री बन्नुभएको दावी गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा शुक्रबार धारणा राख्नुहुँदै उहाँहरुले सो दावी गर्नुभएको हो ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै अहंकारको शिकार बन्नुभएको टिप्पणी गर्नुभएको छ । दुई तिहाई बहुमत रहेको दलका नेता आज प्रतिपक्षमा पुग्नुको पछाडि उहाँ आफै कारक भएको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । “संविधान मस्यौदा गर्दा धारा ७६ उपधारा ५ राख्न लगाउने, अहिले आएर संस्कार संस्कृति मिचियो, प्रणाली भत्कियो भनेर हुन्छ ?” प्रधानमन्त्री शेरबहादुर देउवा जनताको भावना र संविधानसम्मत प्रधानमन्त्री बन्नुभएको पनि उहाँले दावी गर्नुभयो ।

संविधानको भावना र मर्म तथा विधिको शासनलाई अङ्गालेर नवनियुक्त प्रधानमन्त्रीले काम गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । नेता सिंहले भन्नुभयो, “वर्तमान सरकार जनताका लागि कोभिड खोप ल्याउने र व्यवस्थितरुपमा जनतासम्म पु¥याउने लक्ष्य लिएर काम गरिरहेको छ, यो राम्रो छ ।” कोभिड खोपले कोरोना त नियन्त्रणमा आउला सँगसँगै करप्सन भाइरसलाई पनि प्रधानमन्त्री देउवाले आफ्नो कार्यकालमा निमिट्यान्न पार्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

कोभिड व्यवस्थापनका लागि अग्र पङ्तिमा खटेर काम गर्नेलाई आवश्यक सहुलियत दिनमा पनि सरकारले ध्यान दिनुपर्ने नेता सिंहले बताउनुभयो । वर्तमान सरकार सबैको भरोसाको केन्द्र रहेकाले ध्यानपूर्वक काम गर्न उहाँले सुझाव दिनुभयो ।

“आफ्नो कार्यकालमा जनताको चाहनाअनुसार काम गर्नुहोस्, देश समस्यामा पर्दा काँग्रेसले नै निकास दिंदैआएको छ, अहिले पनि त्यो काम होस्” उहाँले शुभकामना दिनुभयो । छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय समुदायसँग पनि सन्तुलित सम्बन्ध कायम गर्न उहाँले सुझाव दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) का नेता हरिबोलप्रसाद गजुरेलले संविधानको धारा ७६ उपधारा ५ पार्टीले सरकार बनाउन नसक्दा सांसदले वैकल्पिकरुपमा सरकार बनाउने विकल्पकोरुपमा राखिएको व्यवस्था भएकाले उपयुक्त भएको बताउनुभयो ।

अनुशासनको पालना नगर्नेले अरुलाई अनुशासनको पाठ सिकाउनु उचित नभएको उहाँले टिप्पणी गर्नुभयो । नेपाली जनता अहिले लाटा नभएको उहाँले बताउनुभयो ।

आफूहरु सशस्त्र जनआन्दोलन गरी आएको पार्टी भएको र जनतालाई राजनीतिक रुपमा चेतना बृद्धि गरेर आएकाले अव जनताले सबै कुरा थाहा पाउने भएको उहाँले बताउनुभयो । काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु देशलाई दुर्घटनाबाट जोगाउने काम भएको उहाँले दावी गर्नुभयो । सभापति देउवा अदालतको परमादेशबाट नभई जनप्रतिनिधिहरुको मतबाट प्रधानमन्त्री बन्नुभएको उहाँले बताउनुभयो । अदालतले संविधानको व्याख्या मात्र गरेको उहाँले दावी गर्नुभयो ।

दुई दुई पटक अदालत जानुपर्ने अवस्थाको सिर्जना काम पूर्व प्रधानमन्त्रीले नै गर्नुभएको चर्चा गर्नुहुँदै सांसद गजुरेलले भन्नुभयो, “संविधानको रक्षा र कोभिड आतङ्कबाट जनतालाई जोगाउन पनि प्रधानमन्त्री देउवाको भूमिका अपरिहार्य रहोस् ।”

शान्ति प्रक्रियालाई पनि यो सरकारको कार्यकालमा सम्पन्न हुनुपर्ने उहाँले सुझाव दिनुभयो । मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन पनि वर्तमान सरकारले भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।

जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षका नेता अनिलकुमार झाले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई ज्ञापन गर्नुहुँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाको कार्यकालमा मधेसको समस्या समाधान हुनेमा आफूहरु आशावादी रहेको पनि उहाँले चर्चा गर्नुभयो । नेपाली जनतालाई कोरोना भयबाट मुक्त गर्न सरकारले शीघ्र ठोस पहल लिनुपर्ने उहाँले सुझाव दिनुभयो ।

किसानहरुले पर्याप्त मात्रामा मलखाद पाउन नसकेको, भारतीय जाने नाकामा भारतीय मुद्राको अभाव रहेको, स्थानीय सरकारको काम प्रभावकारी बनाउन हरेक पालिकामा अधिकृत स्तरको कर्मचारीको व्यवस्था गर्न पनि उहाँले सुझाव दिनुभयो ।

यसअघिको सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश संसद बैठकबाट पारित गरी नागरिकताबाट बन्चित भएकाहरुलाई सुविधा प्रदान गर्न पनि उहाँले माग गर्नुभयो । सांसद रेशमलाल चौधरीको रिहाईको पनि उहाँले सरकारसँग माग गर्नुभयो ।

जसपाका उपेन्द्र यादव पक्षका नेता महेन्द्र राय यादवले प्रधानमन्त्री देउवालाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । प्रतिनिधिसभा पुनस्र्थापना भएर जनताको अधिकार बहाली भएको उहाँले चर्चा गर्नुभयो ।

मधेसमा नागरिकताको ठूलो समस्या भएकाले वर्तमान सरकारले समाधान गर्नुपर्ने उहाँले माग गर्नुभयो । यो पाँच दलीय गठबन्धनको सरकार भएकाले सबैको भावनाको कदर हुनुपर्ने उहाँले बताउनुभयो ।