१२ बैशाख २०८१, बुधबार

एमालेले राष्ट्रपति नपाए पनि सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन: चित्रबहादुर केसीले

chitra
फाइल फोटो

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले अहिले सबैलाई कम्फरटेबल राष्ट्रपति चाहिएको बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्,’ कार्यक्रममा उनले संविधान र देशको हितमा भन्दापनि सत्तामा रहेका पार्टीहरुले आफू अनुकूल निर्णय गर्ने राष्ट्रपति खोजेको बताएका हुन् । ‘सबैलाई सम्फरटेबल राष्ट्रपति चाहिएको छ ।

संविधानलाई पालना गर्ने, संविधानको रक्षा गर्ने राष्ट्रपतिभन्दा सत्ता र शक्तिमा गएका पार्टीहरुको आवश्यकताअनुसार निर्णय गरिदिने खाल्को राष्ट्रपति चाहिएको हो । अहिलेको दौडधुपको कारण यही हो,’ उनले भने ।

नेपालको राष्ट्रपतिको सन्दर्भमा विदेशी शक्तिहरुको पनि चलखेल रहेको उनको आरोप छ । भारतका एक जना सामन्य कर्मचारी आउँदा नेपालका शीर्ष नेताहरुले लाइन लागेर भेट्नुले पनि वास्तविकता छर्लङ्ग भएको उनले बताए । ‘ठूलो दब्दवाह त छिमेकीको छ । एक जना सामन्य कर्मचारी आउँदा लाइन लाग्नेको रमिता देखियो । हाम्रो राष्ट्रको तस्विर देखियो,’ उनले भने । भारतका साधरण कर्मचारी आउँदा यसरी लाइन लाग्नुलाई उनले आत्मसमर्पणवादको संज्ञा दिए ।

अहिले पुरानै सत्ता गठबन्धन ब्युँतने सम्भावना बढेको उनले बताए । पुष १० मा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको सहमतिको कुनै औचित्य नरहेको उनले बताए । आगामी राष्ट्रपतिको निर्वाचनमा राजनीतिको कोर्ष परिवर्तन हुने सम्भावना एकदमै बढी रहेको उनले बताए ।

नेपालमा सिद्धान्त र पद्धतिको राजनीतिक संस्कारको अझै विकास नभइसकेको भन्दै उनले एमालेले राष्ट्रपति नपाएपनि जोखिम मोलेर सत्ताबाट बाहिरिने सम्भावना नरहेको उनको दाबी छ ।

राष्ट्रपति एमालेले नपाएपनि अहिलेको प्रचण्ड–ओली गठबन्धन यथावत रहने उनले बताए । ‘यहाँ सिद्धान्त र पद्धतिको राजनीति हुँदैन । जुनसुकै मूल्य चुकाएर भएपनि सरकारमा जानुपर्छ भन्ने छ । त्यसकारण राष्ट्रपति निर्वाचनमा प्रचण्ड जी र ओलीजीको गठबन्धन भत्केपनि एमालेले प्रदेशको सरकार पनि भत्कने, केन्द्रको सरकारबाट पनि हात धुनपर्ने हुनाले एमालेले जोखिम मोलेर सरकारलाई दिएको समर्थन फिर्ता लिन्छजस्तो मलाई लाग्दैन,’ उनले भने ।

नेपालको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन लडेको र नेपाल बुझेको मान्छे राष्ट्रपतिमा आउनुपर्छ भन्ने आफूहरुको चाहना भएको उनले बताए ।