१४ बैशाख २०८१, शुक्रबार

नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सांसद सिंहद्वारा राजिनामा

amresh kumar singh

प्रतिनिधि सभासदस्य समेत रहेका नेपाली काँग्रेसका नेता डा.अमरेश कुमार सिंहले सांसद पदबाट बुधवार राजीनामा दिएका छन् ।

पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको राजिनामामा उनले काँग्रेसको सर्लाही जिल्लामा बितरण गरिएको क्रियासिल सदस्यताप्रति असन्तुष्टि जनाएका छन् । ‘महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीभित्र उत्पन्न अवान्छित, नेता सिंहले दिएको राजिनामा पत्रमा भनेका छन्,।

‘अस्वाभाविक र भद्दा प्रवृत्तिले नेपाली काङ्ग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध पैदा गरेको छ ।’ सर्लाही जिल्लामा काँग्रेको क्रियासिल सदस्यता वितरणमा व्यापक धाँधली भएको आरोप लगाउँदै बिरोध भइरहेको छ ।पार्टी कार्यालयमा आमरण अनसन थालिएको छ ।

सिंहले आफ्नो राजीनामा पत्रमा विशेषतः प्रदेश नं. २ मा पार्टीका उपसभापति विमलेन्द्र निधिले अवलम्बन गरेको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न गराएको आरोप लगाएका छन् ।‘ निधिको रवैयाकै कारण प्रदेशमा काङ्ग्रेस पार्टीको स्थिति रक्षात्मक अवस्थामा पुग्ने खतरा बढाएकोछ ’ उनले भने, यस्तो स्थितिमा पार्टीको एक जिम्मेवार सदस्यका रूपमा आफूले विशेष निर्णय लिनुपर्ने भएको छ ।

पार्टी सभापति देउवालाई सम्बोधनगर्दै लेखिएको राजीनामामा उनले भनेका छन् ‘ मधेसमा काङ्ग्रेसको प्रतिष्ठा र छवि रक्षा गर्दै ह्रासोन्मुख जनआस्था र विश्वास पुनस्र्थापना गर्न नागरिकको हैसियतमा मेरो भूमिका उपयोगी हुने भएकोले महामानव बीपी कोइरालाको स्मृति दिवसका दिन प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा गर्दछु ।’ सिंहले पार्टी सभापति देउवालाई सांसद पदबाट दिएको राजिनामा स्वीकृत नहुने निश्चित छ ।

सांसदबाट राजिनामा दिने निकाय सभामुख हुन् ।‘पार्टीमा निधिको हैकमवादी प्रवृतीलाई रोक्न सभापतिलाई राजिनामा दिएको छु’ सिंहले भने, एकतर्फी गरिएको क्रियासिल बितरणलाई सच्चयाएर सबैलाई समेट्ने प्रयास नभए सभामुखलाई पनि राजिनामा दिनेछु । काँग्रेस पार्टीमा हरेक महाधिवेशनको बेला क्रियासिल सदस्यताको बिबाद हुने गरेकोछ ।

संस्थापन पक्षले आफ्ना अनुकुलका अन्य संगठन र क्षेत्रका व्यक्तिहरुलाई पनि सदस्यता दिएको आरोप सिंहले लगाएका छन् । काँग्रेसका उपसभापति समेत रहेका नेता निधि १४ औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् ।उनी बिहिवार महोत्तरी जिल्लाको पार्टी कार्यालय भवनको उद्घाटन गर्न जान लागेका छन् । नेता निधिको गृह जिल्ला धनुषाका केहि नेताहरु क्रियासिल सदस्यता वितरणमा धाँधली भएको आरोप लगाउँदै केन्द्रिय कार्यालयमा आमरण अनशन बसेका छन् ।

नेता निधिका सहयोगी रहेका धनुषाका प्रेमकिसोर प्रसाद, विजयशंकर साह लगायतका नेताहरुपनि क्रियासिल सदस्यता बितरणबाट असन्तुष्ट रहेका छन् । धनुषा जिल्ला पार्टी कार्यालयमा बुधवारदेखि रिले अनशन सुरु भएको छ ।क्रियासिल सदस्यता बितरणमा ब्यापक धाँधली भएको बताउँदै युवा नेताहरुले रिले अनशन सुरु गरेका छन् ।