१३ बैशाख २०८१, बिहीबार

कमलाको तटबन्ध भत्कियो, तीनवटा पालिकामा त्रास, नदी छेउका बासिन्दा पहाडतिर आकाश हेर्दै

kamala ko tatbandh 750x375 1

कमला नदीको बाढीले सबैला नगरपालिकाको वडा नम्बर १३ किरतपुरमा करिब तीन सय मिटर तटबन्ध भत्काएको छ ।

बुधवार बिहान तटबन्ध पूर्णरुपले कटान गरिएको र पानी खेत भएर बस्तीमा पस्ने जोखिम बढेको छ । सोमबार बिहानदेखि नै बाढीले तटबन्ध कटान सुरु गरेको थियो । तटबन्ध भत्किन लागेको थाहा पाएपछि सबैलाबासी त्रसित भएका थिए । स्थानीय सयौं मानिस र सुरक्षाकर्मी तटबन्ध जोगाउन लागिपरेपनि बाढीले बुधवार बिहानै तटबन्ध भत्काएको छ । स्थानीय बासिन्दाहरुले सयौं रुख काटेर तटबन्धको छेउमा राखि जोगाउने प्रयास गरे ।

सुरक्षाकर्मीहरुले प्लास्टिकको बोरामा माटो भरेर कटान गरिरहेको ठाउँमा राखे । तर पानीको बहाब तीब्र गतिको भएकाले तटबन्ध जोगाउन सफल हुन नसकेको स्थानीयबासिन्दाहरुले दुखेसो पोखे । ‘तटबन्ध पूर्णरुपले कटान गर्दासम्म नदीमा पानीको बहाब घटिसकेको थियो’, सबैला नगरपालिका युवा समाजसेवी श्रीकान्त साहले भने, ‘त्यसैले बाढी गाउँतीर पसेन ।’ अब सोमबारको जस्तो बाढी आएमा सिधा गाउँ पस्ने साहले बताए । तटबन्ध तत्कालै निर्माण नगरिए सबैला, कमला, जनकनन्दनी लगायतका पालिकामा ठूलो क्षति हुनसक्ने स्थानीयबासिन्दामा चिन्ता छ ।

बाढीले हजारौं घर डुबानमा पर्छ भने कैयौं हजार विघाको धानबाली नष्ट हुने जोखिम छ । अहिले वर्षातको मौसम भएकाले कतिबेला बाढी आउँछ भन्ने ठेगान छैन । त्यसैले बाढी आएपछि घर नै डुबानमा पर्ने चिन्ताले स्थानीयलाई सताइरहेको छ । ‘पहाडमा वर्षा भए कुनै बेला नदीमा बाढी आउन सक्छ’ स्थानीय बासिन्दा मनोज पासमानले भने, सरकारले बस्तीलाई नै सुरक्षित स्थलमा सार्नुपर्छ ।बस्ती नसारिए बाढी आएको बेला बालबालिका, महिला र बृद्धबृद्धाहरुलाई जोगाउन कठिन हुने उनले बताए । ‘साँझ भएदेखि हामी पहाड तिरको आकाशलाई नियालिरहेका छौ’ उनले भने, रातभरि टकटकी लगाएर उतैतिर हेर्दै पानी पर्ने त होइन् भने पीर भइरहन्छ ।

नेपाल रेडक्रस सोसाइटी घनुषाका अध्यक्ष नरेशप्रसाद सिंहले जनधनको क्षति हुन सक्ने उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।बाढीलाई बस्तीमा पस्न नदिन हरसंभव प्रयास भइरहेपनि स्वयं सचेत रहनु आवश्यक भएको उनले बताए ।

कमला नदी नियन्त्रण आयोजना प्रमुख एकराज भट्टराईले तटबन्ध निर्माणको काम भइरहेको बताए । ‘विभागले ५० लाख परिधिभित्र रहेर तत्कालै काम गर्न पत्र पठाएको छ’, उनले भने, ‘पत्र पाएलगत्तै काम सुरु गरिसकेका छौं ।’ उनले प्रदेश सरकारले पनि प्लाष्टिकको बोरा र डोरी उपलब्ध गराएको बताए । नदीमा ५ मिटर गहिरो पानी रहेका कारण स्थानीय काम गर्न पनि डराइरहेको उनको भनाई छ । उनले सुरक्षाकर्मीहरु जोखिम मोलेर काम गरिरहेको भन्दै बाढी गाउँ पस्न नदिने दावी गरे । अहिले पठाएको बजेटले तटबन्ध कटान गरिएको ठाउँलाई पुग्छ । तर अन्य ठाउँमा पनि जीर्ण रहेको तटबन्ध मर्मतका लागि अझै बजेट आवश्यक पर्ने उनले बताए ।

प्रायः २-३ वर्षको अन्तरालमा कमला नदीको बाढीले तटबन्ध भत्काएर ठूलो क्षति पु¥याउने गर्छ । तर समयमा तटबन्ध मर्मतका लागि बजेट सरकारले नपठाउने गरेको सम्बन्धित कार्यालयका इन्जिनियरहरु बताउँछन् । बजेट पठाएपनि गुणस्तरीय काम हुने गरेको छैन । साथै तटबन्धमा बढी लोड बोकेको सवारी साधन चलाउन रोक लगाएको भएपनि नियमन नहुँदा तटबन्ध छिट्टै जिर्ण हुन्छ र बाढी आएपछि भत्किने गरेको उनीहरु बताउँछन् ।

असार महिनामा धनुषा र सिरहा जिल्ला जोड्ने हुलाकी राजमार्गमा कमला नदीमा बनेको पुल बाढीले क्षतिग्रस्त बनाएको थियो ।पुलको निर्माण काम सकिएको दावी ठेकदार कम्पनी पप्पु कन्सट्रक्सनले गरिरहेको बेला कमला नदीमा आएको यो वर्षको पहिलो बाढीले नै पुललाई भत्काएको थियो ।

भारत सरकारको सहयोगमा कमला नदीको पश्चिम र पूर्व तर्फ तटबन्धको काम पुरा भएको थियो ।तटबन्धको काम पुरा भइसकेपछि भारत सरकारले आर्थिक सहयोग बन्द गरेको छ ।कमला नदीबाट भारतीय क्षेत्रमा समेत वर्षेणी भारी क्षति हुने गरेको छ ।

भारतीय रुपैया ३ अर्ब १४ करोडको लागतमा भारतले कमला नदीमा आधुनिक ब्यारेजको निर्माण गर्न लागेको छ ।भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार जयनगरमा पर्ने कमला नदीमा ५सय १९ मिटर लामो सो ब्यारेजको ठेक्का स्वीकृत भइसकेको र कात्तिक मंसिरदेखि निर्माण कार्य थालिने बताइएको छ ।

भारतले कमला नदीमा ब्यारेज बनाएपछि भारतीय क्षेत्रमा हुने ठूलो क्षतिलाई न्युन गर्न सक्ने बताइएको छ । सीमा क्षेत्रमा नै कमला नदीको पानी नियन्त्रण गरिएपछि बाढीबाट भारतमा हुने जनधनको ठूलो क्षतिमा कमि आउने जनाइएको छ ।