१४ बैशाख २०८१, शुक्रबार

सन्दिप लामिछानेलाई बेलायत क्रिकेट बोर्डको तत्काल देश छोड्न निर्देशन, अवैध भिसा रहेको दावी

sandip lamichhane
फाइल फोटो

नेपालका चर्चित क्रिकेट सन्दिप लामिछानेलाई बेलायतको क्रिकेट बोर्डले तत्काल देश छोड्न निर्देशन दिएको छ । आफ्नो भिसालाई अवैध भन्दै चाँडोभन्दा चाँडो बेलायत छोड्न भनिएको सन्दिपले जानकारी दिएका छन् ।

थुप्रै देशका क्रिकेट लिगहरुमा भाग लिइसकेका सन्दिप ‘द हन्ड्रेड’ प्रतियोगिता खेल्न बेलायत गएका थिए । यो प्रतियोगिता अब आफूले गुमाएको सन्दिपले फेसबुकमार्फत जानकार दिएका छन् ।

उनको भनाइ यस्तो छ, ‘म जुलाइ ९ मा बेलायत पुग्दा अध्यागमनमा कुनै समस्या भएन । त्यसपछि म सरकारले व्यवस्थापन गरेको क्वारेन्टाइनमा गएर बसेँ । नियमानुसार क्वारेन्टाइन सकिनुभन्दा दुईदिन अघि मलाई इसीबीले भन्यो कि तिम्रो भिसा बैध छैन र तिमीले चाँडोभन्दा चाँडो देश छोड्नुपर्छ । मैले के समस्या भयो भनि सोध्दा इसीबीका कसैले पनि सही जवाफ दिएनन् ।’

सन्दिपले आफ्नो भिसा के कारणले अवैध भयो भन्ने जवाफ मागेका छन् ।

उनी टायर ५ भिसामा बेलायत गएका थिए । यो भिसाबाट उनलाई खेल्न अनुमति नदिइएको क्रिकइन्फो डट कमले जनाएको छ ।

बेलायतमा गएर नियमानुसार सरकारकै व्यवस्थापनमा रहेको होटलमा क्वारेन्टाइन पनि बसिसकेपछि इसीबीले उनलाई खेल्न रोकेको हो । खेल्न रोकेको मात्र नभई बेलायत छोड्न समेत भनिएपछि सन्दिप आक्रोशित बनेका छन् ।

यसअघि उनले बेलायतमै आयोजना भएको टी-२० ब्लास्ट पनि भिसा समस्याका कारण गुमाएका थिए । ‘द हन्ड्रेड’ का लागि ओभल इन्भिन्सिबलमा सन्दिप ६० हजार पाउण्डमा आवद्ध भएका थिए । अब उनले चाँडै नेपाल फर्किनुपर्ने भएको छ ।

Capture 2