१ आश्विन २०८१, मंगलवार

मैदानमा फर्किएर विश्व रेकर्ड बनाएका सन्दीपको क्षण !

sandeep

क्रिकेट खेलाडीहरूका लागि सबैभन्दा ठूलो अवसर हो, विश्वकप । अहिले अमेरिका र वेष्ट इण्डिजमा आईसीसी टी २० विश्वकपको नवौँ संस्करण जारी छ ।

सहभागी २० टोलीमध्ये सुपर ८ मा पुग्ने देशहरूको छनौट भइसकेको छ । दोस्रोपटक सहभागी नेपाल आफूले खेलेको सबै प्रतियोगितामा पराजित हुँदै बाहिरिसकेको छ ।

नेपाली टोली बाहिरिनु मुख्यमध्ये एक कारण लेग स्पिनर सन्दीप लामिछाने सुरुदेखि खेल्न नपाउनु पनि बन्न पुग्यो । उनीबिना मैदानमा उत्रिएको नेपालले पराजित गर्दै आएको नेदरल्याण्डसविरुद्ध पनि लज्जास्पद हार बेहोर्नु पर्यो ।

अमेरिकामा सम्पन्न उक्त खेलमा सन्दीपले भिसा नपाएपछि सहभागी हुन पाएका थिएनन् । यस्तै, अमेरिकामा नै श्रीलंकाविरुद्धको खेल वर्षाका कारण स्थगित भएको थियो ।

अमेरिकामा जान नपाएका सन्दीप वेष्ट इण्डिजमा भएका दुई खेलमा सहभागी भए । यसका लागि उनलाई सबैभन्दा ठूलो साथ आईसीसीले गरेको थियो । उनका लागि आईसीसी निकै सहज बनिदिँदा विश्वकप खेल्ने सपना पूरा बन्न पुग्यो ।

गौशाला २६ लाई बलात्कार गरेको आरोपमा लामो समय खेल्न नपाएका सन्दीप जिल्ला अदालत काठमाडौंबाट दोषी ठहरसमेत बने । तर, उच्च अदालत पाटनले उनलाई निर्दोष साबित गर्दै सफाइ दियो । यसपछि उनलाई नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेलाउने प्रक्रिया अगाडि बढाएको थियो ।

क्यानको उनलाई अमेरिका पठाउन सकेन । यसबीच सन्दीप आफै क्यानडा पुगे । क्यानडा पुगेपछि उनले नेपाली टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानाइकेको सम्पर्कमा पुगेर एक हप्ता अभ्यास गरे । त्यसपछि मात्रै उनी विश्वकप आयोजक देश वेष्ट इण्डिज पुगे ।

वेष्ट इण्डिज पुगेपछि मात्रै सन्दीपले क्यानलाई जानकारी गराएको दाबी गरिएको छ । वेष्ट इण्डिज पुगेको जानकारी उनी आफैले पनि गराएका थिए । यसपछि उनी विश्वकप खेल्ने पक्का भएको थियो ।

नेपालले आधा खेल खेलिसकेको अवस्थामा उनी पहिलोपटक विश्वकप खेल्दै थिए । विश्वभरका समर्थकको ध्यान उनीमाथि खिचिएको थियो । यसको कारण थियो, सात महिनासम्म बल र ब्याट नसमाएका सन्दीपले कसरी खेल्ला ?

उनी पहिलो खेल दक्षिण अफ्रिकाविरुद्ध उत्रिदै थिए । यो खेलमा उनी दबाबमा देखिए । पहिलो, सात महिनापछि खेलमा फर्किनु । दोस्रो, टी २० मा दुई विकेट लिएर सबैभन्दा छिटो एक सय विकेट लिने इतिहास बराबरी बनाउनु । र तेस्रो, आफ्नो टोलीलाई जिताएर सुपर ८ मा जाने सम्भावना जिवित राख्नु ।

उनी यी तीनै कुरामा सफल हुन सकेनन् । तर, उनको आगमनले नेपाली टोलीको खेल्ने शैली पूरै परिवर्तन भयो । दक्षिण अफ्रिका जस्तो देशको सात विकेट लिँदै ११५ रनमा समेट्न सक्यो । उनले चार ओभर बलिङ गर्दै जम्मा १८ रन दिए ।

सोमबार सम्पन्न बङ्गलादेशविरुद्ध सन्दीपले टी २० मा खेलेको ५४ औँ खेल थियो । यसमा उनले ऐतिहासिक खेल देखाए । यही खेलमा उनले अन्तर्राष्ट्रिय टी २० क्रिकेटमा एक सयौँ विकेटको कोसेढुङ्गा छोए ।

सन्दीपले जाकर अलीलाई बोल्ड गरेर ५४ औँ खेलमै एक सय विकेट लिए । अफगानिस्तानका रसिद खानले मात्र सन्दीपले भन्दा कम खेल खेल्दै टी २० मा एक सय विकेट लिएको रेकर्ड रहेको छ । खानले ५३ खेलमै एक सय विकेट पूरा गरेका थिए ।

सन्दीपले कीर्तिमान बनाएको यो खेलमा पनि नेपाल पराजित बन्न पुग्यो । तर, बंगलादेश जस्तो टोलीलाई जम्मा १०६ रनमा समेट्न सक्यो । यसका बाबजुद नेपाली टोलीले ब्याटिङ गर्न नसक्दा पराजित बन्न पुग्यो । तर, नेपालले विश्वकपमा सहभागी बनेर विश्वलाई गतिलो सन्देश दिएर फर्किएको छ ।

यसअघि सन्दीपले एक दिवसीय क्रिकेटमा विश्वकै सबैभन्दा कम खेल खेलेर १०० विकेट लिने पहिलो बलर बनेका थिए ।

एक दिवसीयमा उनले ४२ खेल खेलेर १०० विकेटको कोशे ढुङ्गा पूरा गरे थिए । उनीभन्दा अगाडि कुनै पनि खेलाडीले यो रेकर्ड बनाउन सकेको थिएन ।

nepal 1