१४ बैशाख २०८१, शुक्रबार

जसपा यादव पक्षीय संसदीय दलको विधान पारित, ठाकुर समूह आए ठाउँ दिने

jasapa

जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) को संसदीय दलको बैठकले पार्टीको संसदीय दलको विधान पारित गरेको छ ।

आज बसेको पार्टीको बैठकले संसदीय दलको विधान सुझावसहित पास गरेर पार्टीमा पठाउने निर्णय गरेको हो । बैठकपछि पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय संसदीय दलको विधानलाई छलफल गरी पारित गरेको बताउनुभयो । सरकारमा सहभागी बन्ने मन्त्रीहरुको बारेमा भने कुनै छलफल नभएको उहाँले बताउनुभएको छ । ‘संसदीय दलको विधान पारित भएको छ’, अध्यक्ष यादवले भन्नुभयो, ‘जसपा एउटै पार्टी हो, दुईवटा होइन ।’

त्यस्तै पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आजको छलफल संसदीय दलको विधानमा मात्रै केन्द्रित रहेको बताउनुभएको छ ।

बैठकले संसदीय दलको विधानलाई मुख्य एजेण्डा बनाएको र नयाँ सरकारमा सहभागी बन्ने मन्त्रीहरुको बारेमा केही कुरा नभएको डा. भट्टराईको भनाइ थियो ।

त्यस्तै पार्टीका सांसद रामबाबु यादवले संंसदीय दलको विधान पार्टीबाट अनुमोदन भएर आएपछि यस अनुसार नै संसदीय दलका पदाधिकारी चयन गरिने बताउनुभएको छ । केन्द्रीय कार्यकारिणी समितिको बहुमत र सांसदको पनि बहुमत आफूसँगै भएको बताउनुभयो ।

सांसद यादवले अबको १–२ दिनमा पार्टीले निर्णय गर्ने र निर्वाचन आयोगबाट पनि दलको बारेमा आधिकारिकता आएपछि पार्टी अघि बढ्ने बताउनुभयो ।

‘मान्छे चरित्रको हुनुपर्छ, डबल रोलले चल्दैन, एउटै चरित्र लिएर महन्थ ठाकुर पक्ष आउनुभयो भने, उहाँहरुलाई पार्टीमा अझै ठाउँ छ’ सांसद यादवले भन्नुभयो– मन्त्रीहरुको कुरा भनेको निर्वाचन आयोगबाट दल फाइनल भएपछि मात्रै हुन्छ ।

नयाँ सरकारलाई पार्टीको समर्थन रहेको बताउँदै सांसद यादवले ढिलोचाँडो सरकारमा सहभागी बन्ने बताउनुभयो ।