१२ बैशाख २०८१, बुधबार

साउन ३१ देखि कक्षा १२ को परीक्षा, होम सेन्टरमै परिक्षार्थीको सिट व्यवस्थापन

national examination board

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन ३१ देखि भदौ ९ सम्म गर्ने निर्णय गरेको छ ।

परीक्षा बोर्डको मंगलबार बसेको बैठकले विद्यार्थीलाई होम सेन्टरमै परीक्षाको व्यवस्था गर्ने निर्णय गरेको छ ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा उपनियन्त्रक सुवास पन्तले जानकारी दिए ।

स्वास्थ्य मापदण्ड पालना गर्दै जेड आकारमा परीक्षार्थीलाई राख्न समेत भनिएको छ ।

विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् । परीक्षा भदौ ९ गतेसम्म हुने भएको छ । परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमाको दिन विदा दिएर शनिबार पनि परीक्षा सञ्चालन गरिने पन्तले जानकारी दिए ।

गत जेठ २६ गते तय भएको परीक्षा दोस्रो लहरको कोरोना संक्रमणको तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो । यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।