१४ बैशाख २०८१, शुक्रबार

सरकारको प्राथमिकता आत्मनिर्भर अर्थतन्त्र

60f4ead619318 Untitled 1

अर्थमन्त्री जनार्दन शर्माले सरकारको प्राथमिकता आत्मनिर्भर अर्थतन्त्र निर्माण रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको प्रतिनिधि मण्डलसँगको भेटमा उहाँले त्यही भएर आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल उद्योग परिसङ्घले अघि बढाएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान कार्यान्वयनमा सरकारले बलियो साथ दिने बताउनुभएको छ ।

उहाँले सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेकाले र आफ्नो प्राथमिकता पनि आत्मनिर्भर अर्थतन्त्र रहेकाले निजी क्षेत्रले अघि बढाएको अभियानमा आफ्नो साथ रहने बताउनुभएको हो ।

नेपाल उद्योग परिसङ्घका अनुसार अर्थमन्त्रीले तथ्याङ्कहरू हेर्दा आयात उच्च रहेको, निर्यात कमजोर रहेको र विदेशी मुद्रा सञ्चिति पनि कम रहेको पाएको भन्दै यो अवस्थामा परिवर्तन ल्याउनु जरुरी रहेको ठानेर नै सरकार र निजी क्षेत्र मिलेर नेपालमै उत्पादन वृद्धि गर्ने र आयात न्यूनीकरण गर्नेतर्फ सोच्नुपर्नेमा जोड दिनुभयो ।

अर्थमन्त्री शर्माले आर्थिक विकास, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रलाई सधैँ साथमा लिएर अघि बढ्ने बताउनुभयो । सरकारको उद्देश्य अर्थतन्त्रको सबलीकरण नै रहेको जनाउँदै उहाँले निजी क्षेत्रका लागि लगानीको वातावरण तयार गर्न र नीतिगत सहजीकरण गर्न सरकार सदैव तयार रहेको स्पष्ट गर्नुभयो । उहाँले त्यसका लागि लगानी बढाउन पनि आग्रह गर्नुभयो ।

उहाँले कोभिड–१९ को महामारीले अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरण गर्दै अघि बढ्न सरकारलाई निजी क्षेत्रको सहयोग आवश्यक पर्ने उल्लेख गर्नुभयो । मन्त्री शर्माले असल औद्योगिक सम्बन्धसहितको लगानीयोग्य वातावरण सिर्जना आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो ।

परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले नेपाल सरकारको अर्थमन्त्री पदमा नियुक्त हुनुभएकामा अर्थमन्त्री शर्मालाई नेपाल उद्योग परिसङ्घका तर्फबाट बधाई ज्ञापन गर्नुभयो । उहाँले सबै नेपाली नागरिकलाई खोप र आर्थिक पुनरुत्थान आजको प्रमुख आवश्यकता रहेको भन्दै निजी क्षेत्रलाई खोपमा प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।

कोभिडले आत्मनिर्भर अर्थतन्त्र निर्माणको आवश्यकता बोध गराइदिएको भन्दै उहाँले त्यसलाई वास्तविकतामा परिणत गर्न नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सञ्चालन गरेको जानकारी गराउनुभयो ।

परिसङ्घका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले सरकारले घोषणा गरेका नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै कोभिडबाट कमजोर बनेको अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिबाट पनि सम्बोधन हुने अपेक्षा निजी क्षेत्रले गरेको उल्लेख गर्नुभयो ।

यसैबीच नेपाल उद्योग परिसङ्घको अगुवाइ एवं नेपाल इन्भेस्टमेन्ट बैङ्क र प्रभु बैङ्कको सहकार्यमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ । नेपाल उद्योग परिसङ्घको कार्यालय थापाथलीमा आयोजित कार्यक्रममा प्लान्ट हस्तान्तरण एवं सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

परिसङ्घका अध्यक्ष सतिशकुमार मोर र शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । ५० क्युबिक लिटर प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ ।