१५ बैशाख २०८१, शनिबार

निरंकुश प्रवृत्तिको हार भयो, निरङ्कुश प्रवृत्तिमा अङ्कुश लाग्यो, जनताको जितभएको माधव नेपालको प्रतिक्रिया

madhav nepal
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निरंकुश प्रवृत्तिको पराजय र जनताको जित भएको प्रतिक्रिया दिएका छन् ।

वरिष्ठ नेता माधव नेपालले  निरङ्कुश प्रवृत्तिमा अङ्कुश लागेको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछि प्रतिक्रिया दिँदै नेपालले भने, ‘ आजको प्रतिनिधिसभाको घटनाले निरङ्कुश प्रवृत्तिमा अङ्कुश लाग्यो ।’

नेता नेपालसहित २२ एमाले सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । यससँगै देउवाले १६५ मत पाएका छन् । एमालेको १२१ सांसद भएपनि विपक्षमा ८३ मत मात्र परेको छ । एक जना भने तटस्थ बसेका छन् ।

सर्वोच्चको फैसलाको जीत भएको र व्यवस्था जोगिएको नेपालको भनाइ छ  । ‘सर्वोच्चको फैसलाको जीत भएको छ । व्यवस्था पनि जोगिएको छ । पटक पटक प्रतिनिधिसभा विघटन गरियो । यो प्रतिनिधिसभाले स्थायित्व दिन सक्दैन भन्ने कुरा झुट साबित भएको छ ,’ उनले भने ।

संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दैै नेता नेपालले संसदको यो निर्णयले पटकपटक भएको प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि भएको बताएका छन् ।

यो प्रतिनिधिसभाले स्थायित्व दिन सक्दैन भन्ने स्थापित गर्न खोजिएको भए पनि त्यो असफल भएको भन्दै उनले भने, ‘निरंकुश प्रवृत्तिको पराजय भएको छ । संविधान, संविधान निर्माणको भावना र जनताको जित भएको छ ।’