८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री देउवाले एमाले विवाद र जसपामा यादव बलियो हुँदा विश्वास प्राप्त गर्ने संकेत

sherbadhur deuwa
फाइल फोटो

जनता समाजवादी पार्टीमा अध्यक्ष उपेन्द्र यादव पक्ष बलियो बन्दै जानु र एमालेमा विवाद कायमै रहनु प्रधानमन्त्री शेरबहादुर देउवाका लागि भने खुसीको खबर हो । किनकी एक महिनाभित्र विश्वासको मत लिनुपर्ने बाध्यतामा रहेका प्रधानमन्त्री देउवाले यी दुई दलबाटै धेरै सांसदको समर्थन जुटाउनु पर्नेछ । एमाले र जसपाको विवादले प्रधानमन्त्री देउवालाई पर्ने प्रभाव कस्तो हुन्छ ? हेरौं

नेकपा एमालेका एक सय २१ जना सांसद एक ठाउँमा उभिने बित्तिकै शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत पाउन कठिन हुने विष्लेषण भइरहेको छ । संसदमा अहिले बहुमतका लागि प्रधानमन्त्री देउवालाई एक सय ३६ सांसदको समर्थन आवश्यक छ ।

अहिले कांग्रेसका ६२ सांसद छन् । सरकारमा रहेको माओवादी केन्द्रका सभामुखबाहेक ४८ जना छन् । माओवादी केन्द्रका ५३ सांसदमध्ये ४ जना एमालेमा प्रवेश गरेसँगै पदमुक्त भएका छन् । सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाका एकजना सांसद छन् । यी तीन दलको जोड्दा १ सय ११ हुन आउँछ ।

बहुमतका लागि बाँकी २५ सांसद प्रधानमन्त्री देउवाले जनता समाजवादी पार्टी जसपा र एमालेको नेपाल खनाल समूहबाट जुटाउनुपर्ने हुन्छ । सरकारको समर्थन गरिरहेको जसपाको यादव पक्षमा अहिले १७ सांसद पुगेका छन् । यो अवस्थामा अब सरकारको पक्षमा बहुमतका लागि ८ सांसद मात्रै कम हुन्छन् ।

केही गरी नेकपा एमालेमा सहमति भयो र विश्वासको मत नदिने निर्णय गर्‍यो भने पनि बहुमत जुटाउने गरी देउवा नेतृत्वको गठबन्धनले कसरत गरिरहेको छ । एमाले एकढिक्का भएको अवस्थामा प्रधानमन्त्री देउवाले जनता समाजवादी पार्टीका ३२ मध्ये कम्तिमा २५ सांसदको समर्थन पाउनुपर्ने हुन्छ ।

जसपाको ठाकुर पक्षका ५ भन्दा बढी सांसद अध्यक्ष उपेन्द्र यादवको पक्षमा जान वार्तामा रहेको बताइएको छ । सत्ता र शक्तिका लागि गुटगत परिवर्तन हुने राजनीति हेर्दा यादव पक्षले २५ जना भन्दा बढी सांसद आफुतिर नतान्ला भन्न सकिदैन । किनकी केन्द्रीय कार्यकारिणीमा बहुमतमा रहेको यादव पक्षले संसदीय दलमा पनि बहुमत जुटाइसकेको छ ।

यस्तो अवस्थामा ठाकुर पक्षले दुबैतिर ४० प्रतिशत पुर्‍याउन सकेन भने कानुनी रुपमा पार्टी विभाजन हुन सक्नेछैन । र बहुमत पक्षले आफुतिर नआउनेको पद खारेजका लागि सिफारिस गर्नेछ । यद्यपी जसपाको विवाद अहिले निर्वाचन आयोगमा छ । आयोगले आइतबारदेखि आधिकारिकता छिनोफानोको प्रक्रिया शुरु गर्दैछ ।

जसपा केन्द्रीय कार्यकारिणी र संसदको गणित हेर्दा यादव पक्ष नै आधिकारिक हुने लगभग निश्चित छ । यो अवस्थामा नयाँ पार्टीका लागि ठाकुर पक्षले दुबैतिर ४० प्रतिशत पुर्‍उनुपर्ने हुन्छ । त्यसो गर्न नसके यादवसँग मिलेर बस्ने वा सांसद पद माया मारेर नयाँ पार्टी बनाउने विकल्प मात्रै ठाकुर पक्षसँग हुनेछ । जसपामा यादव पक्ष बलियो बन्दै जानु प्रधानमन्त्री देउवाका लागि सुखद समाचार हो ।

देउवाका लागि अर्को पनि खुसीको कुरा छ नेकपा एमालेको विवाद मिल्नेतिर भन्दा झन बल्झदै गएको छ । एमाले नमिल्नु भनेको नेपाल खनाल पक्षले देउवाको समर्थन गर्नु नै हो । यसअघि पनि नेपाल खनाल पक्षका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरिसकेका छन् ।

अहिले पनि देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेता नेपाललाई पकाउन लागिरहनु भएको छ । प्रचण्डले शनिबार नेपालसँग भेटेर सरकारको स्थायित्वबारे छलफल गर्नुभएको छ । अध्यक्ष ओलीबाट अपमानित भइरहेका नेपाल अहिले पनि देउवालाई विश्वासको मत दिने पक्षमा हुनुहुन्छ ।

यदि नेपाल समूहका २३ जना र जसपाका २५ जना सांसदले मत दिए देउवाको पक्षमा अत्यधिक बहुमत हुनेछ । अहिले विपक्षी गठबन्धन बढि भन्दा बढी सांसद जुटाएर विश्वासको मत लिने समयको पर्खाइमा छ । किनकी उहाँलाई त्यसका लागि एक महिनाको समय छ । तर राजनीतिमा आएका पछिल्ला परिवर्तन हेर्दा देउवाले छिट्टै विश्वासको मतका लागि संसदमा प्रस्ताव गर्न सक्ने संभावना छ ।