७ बैशाख २०८१, शुक्रबार

दलित समुदायबाट गणेश मन्दिरको मूल पुजारी बनाउने पण्डित दीनबन्धु पोखरेलको घोषणा

dinbandhu pokhrel

जातीय विभेदमुक्त समाज निर्माणका लागि दलित समुदायबाट गणेश मन्दिरको मूल पुजारी घोषणा गरिएको छ । ललितपुरको गोदावरी नगरपालिका–१ गोदामचौरमा निर्माण हुन लागेको गणेश मन्दिरका लागि स्थानीयवासी लक्ष्मण रम्तेललाई मूल पुजारी बनाउने घोषणा गरिएको हो ।

सनातन गोरक्ष राष्ट्र नेपालले आज गोदामचौरमा आयोजना गरेको कार्यक्रममा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले रम्तेललाई कर्मकाण्ड सिकाएर मुख्य पुजारी बनाउने घोषणा गर्नुभयो ।

सो अवसरमा पण्डित पोखरेलले शासकले आफू अनुकूल शासन गर्नका लागि व्यक्तिलाई विभाजन गरेको भन्दै मानव जातलाई एउटै जात बनाउनका लागि दलितको छोरालाई पुजारी बनाइएको बताउनुभयो । “पछिल्लो समय नेपालमा जात र धर्मबीच द्वन्द्व फैलाउन खोजिएको छ, यसप्रति सबै सजग हुनुपर्छ”, उहाँले भन्नुभयो । पण्डित पोखरेलले छुवाछूत र विभेदमुक्त समाज निर्माणका लागि भागवत सप्ताहमार्फत अभियान सञ्चालन गरिरहेका अवस्थामा पण्डित नारायणप्रसाद पोखरेलको हत्या भएको स्मरण गर्नुभयो ।

क्षेत्री समाज राष्ट्रिय महासङ्घका अध्यक्ष विष्णुबहादुर खड्काले विभेदमुक्त समाज निर्माणका लागि सनातन गोरक्ष राष्ट्र नेपालले अगाडि सारेको अभियान सराहनीय रहेको बताउनुभयो । जातमा कोही पनि ठूलो र सानो नहुने उहाँको भनाइ थियो ।

विश्वकर्मा समाज नेपालका अध्यक्ष गोपालप्रसाद विश्वकर्माले समाजमा दलित मात्र नभई हरेक समुदायमा हुने विभेदविरुद्ध युवा अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

सनातन गोरक्ष राष्ट्र नेपालका संयोजक अर्जुन रानाले सीप र कलाको धनी दलित समुदायलाई राम्रो व्यवहार गरेमा देशको विकासले गति लिने बताउनुभयो । विसं २०७५ मा स्थापना भएको सनातन गोरक्ष राष्ट्र नेपालले विभेदमुक्त समाज निर्माणका लागि देशभर अभियान सञ्चालन गर्दै आइरहेको अध्यक्ष रानाले बताउनुभयो । रासस

    सम्बन्धित समाचार...