६ बैशाख २०८१, बिहीबार

गैंडा तस्करीका अभियुक्तहरु अदालतबाटै धमाधम छुट्दै, चितवनका सरोकारवालाले जनाए चिन्ता

taskar 1024x536 1

चितवन राष्ट्रिय निकुञ्जले केही समय यता धमाधम दुर्लभ एक सिंगे गैंडा तस्कारका आरोपितहरुलाई पक्राउ ग¥यो । निकै लामो अनुसन्धान र संरक्षणकर्मीहरुको सहयोगमा निकुञ्जले वर्षौदेखि फरार अभियुक्तहरुलाई पनि पक्राउ ग¥यो । निकुञ्जले उनीहरुलाई कारवाही हुने आशाले अदालत पेश ग¥यो । तर अदालतबाट सामान्य धरौटीमा अभियुक्तहरु धमाधम छुट्न थालेपछि चितवनका मध्यवर्ति सामुदायिक वन र सरोकारवाला निकायहरुले चिन्ता प्रकट गरेका छन् ।

आज (बिहीबार) सामुदायिक वन र सरोकारवाला निकायका अध्यक्षहरुले एक संयुक्त विज्ञप्ती जारी गर्दै अभियुक्तहरु पक्राउ परिरहने र अदालतबाट धरौटीमा छुटिरहने प्रक्रियाले संरक्षणमा थप चुनौती थपिएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । उनीहरुले वन्यजन्तुको चोरी शिकारीमा संलग्न हुने अपराधीहरुलाई कडा भन्दा कडा कारवाहीको लागि सम्बन्धित निकायमा जोडदार माग गरेका छन् । विश्वमा नै नेपाललाई चिनाउने राष्ट्रिय निकुञ्ज र यसमा पाइने एक सिंगे गैंडा, पाटे बाघ लगायत वन्यजन्तुको चोरी शिकारी गर्ने तस्करहरु पुरा कारवाहीको भागिदार भएर छुट्दा समेत पुनः चोरी शिकारीमै संलग्न भएको तथ्यांक सार्वजनिक भइरहँदा अहिले अभियुक्तहरु अदालतबाटै धमाधम छुट्न लागेकोमा सरोकारवालाले चिन्ता प्रकट गरेका छन् ।

बिहीबार मृगकुञ्ज मध्यवर्ति उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, बाघमारा मध्यवर्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जितु तामाङ, चित्रसेन मध्यवर्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुष्पराज श्रेष्ठ, जनकौली मध्यवर्ति सामुदायिक वन उपभोक्ता समूहका सचिव नारायण महतो, मिलिजुली मध्यवर्ति सामुदायिक वन उपभोक्ता समूहका सचिव कमानसिंह चौधरी, टिकौली मध्यवर्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ईश्वरीप्रसाद लामिछाने, क्षेत्रीय होटल संघ नेपाल, सौराहा चितवनका अध्यक्ष दीपक भट्टराई, रेष्टुरेन्ट एण्ड बार एशोसियसन सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडा, नेचर गाइड एशोसियसन सौराहाका अध्यक्ष राजेन्द्र धामी, वर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष रमेश चौधरी, युनाईटेड हात्ती संचालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, सौराहा हात्ती तथा जीप बुकिङ काउण्टरका सचिव राममणि खनाल र समुदायमा आधारित चोरी शिकार नियन्त्रण यूवा जागरण उपसमितिका सचिव रामचन्द्र सापकोटाले संयुक्त विज्ञप्ती जारी गर्दै अभियुक्तहरु अदालतबाटै धमाधम छुट्न लागेकोमा चिन्ता प्रकट गरेका हुन् ।

उनीहरुले एक सिंगे गैंडा नेपाल र भारतमा मात्रै पाइने र त्यसमध्ये पनि चितवन राष्ट्रिय निकुञ्ज र यसआसपासका वन क्षेत्रमा मुख्य बासस्थान रहेकाले सम्पूर्ण संघसंस्था र जनसमुदायलाई संरक्षणमा जुट्न अपिल गरेको छ ।