२४ बैशाख २०८१, सोमबार

बालकोटको बार्दलीबाट ओलीको भाषण : “लाजसरम हराएका नेपाललाई पार्टीमा ठाउँ छैन”

kp oli balkot 1

एमालेको भातृ संगठन युथ फोर्स र युवा संघले बालुवाटारबाट स्कर्टिङ र नाराबाजी गर्दै बालकोटस्थित घरमा पुर्‍याएपछि ओलीले सम्बोधन गर्दै अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन्।

नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका माधव नेपालहरूका कारण एमाले सरकार ढलेको भन्दै कमजोरी स्वीकार गरेर आए पनि माधव नेपाललाई भने स्वीकार गर्न नसकिने बताएका छन् ।

बालुवाटार छाडेर निजी निवास बालकोट पुगेपछि कार्यकर्ता र समर्थकलाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई पार्टीमा स्थान नरहेको बताए । तर, उनीसँग लागेर विपक्षीलाई सत्ता बुझाउनेहरूलाई भने गल्ती स्वीकार गरेर आए यथोचित जिम्मेवारी दिइने बताए ।

ओलीले माधव नेपालले एमालेविरुद्ध अपराध गरेकाले उनलाई क्षमा हुन नसक्ने बताएको युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

आफूलाई कुनै गल्तीविना अकारण हटाइएको ओलीको दाबी रहेको छ।

‘जनादेशबाट होइन परमादेशबाट अकारण, कुनै गल्ती गरेर होइन। काम गर्न नसकेर होइन। देशको विकास गरेर, राष्ट्रलाई एकजुट बनाएर, संविधान कार्यान्वयन गराएर, सर्वस्वीकार्य बनाएर, विकास अगाडि बढाएर अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि अगाडि बढाएर काम गर्दागर्दै जाली झेलीहरूको जालझेल, कपट, षड्यन्त्र स्वरूप अदालतमा मुद्दा हालेर कुनै मूल्यांकनको आधारमा होइन, असंवैधानिक फैसलाबाट जनादेश विपरीत, जनतामा जान नदिएर अदालतबाट प्रधानमन्त्री तोक्ने गलत नजिर, विश्वमा कहीँ नभएको नजिर कायम गरेर नेपाली जनतामाथि, लोकतन्त्रमाथि अतिक्रमण भएको छ,’ ओलीले भने।

ओलीले आफ्नो सरकारले सम्पूर्ण नागरिकलाई निःशुल्क खोप दिने क्रम अघि बढाएको र सोही अन्तर्गत चाहिने जति खोप आउने प्रक्रियामा रहेको भन्दै नयाँ सरकारले निःशुल्क खोप दिने भन्दै तमाशा देखाएको आरोप लगाए ।

उनले नेपाली जनताले आवधिक मूल्यांकन गर्ने अधिकार खोसिएको पनि बताए।

‘अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहीँ नभएको जात्रा सर्वोच्च अदालतमा भयो,’ उनले भने।

उनले देशका लागि राम्रो काम गरेको र विकास गरेकोले ग्लानी नभएको पनि बताए।

अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई लाजशरम हराएका मानिसहरू भनेका थिए।

‘आफ्नै पार्टीको सरकार ढाल्नका लागि कहिले राष्ट्रपतिकहाँ विरोधीलाई लाइन लगाएर, माधव नेपालजस्ता लाजशरम हराएका मानिसहरू,’ उनले भने। उनले यसो भन्दा कार्यकर्ताले माधव नेपाललाई पार्टीबाट निकाल्नुपर्ने भन्दै नाराबाजी गरेका थिए।

उनले पार्टीका नेताहरूलाई गल्ती स्वीकार गरेर आएमा काम गर्न दिइने बताएका थिए। तर माधव नेपालका हकमा गल्ती कमीकमजोरी स्वीकार्य कुनै ठाउँ नरहेको ओलीको भनाइ थियो।