१६ बैशाख २०८१, आईतवार

जनताको हितका निम्ति गम्भीरताका साथ काम गरेको छु : ओली

kp oli 1

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले तीन वर्षको अवधिमा जनताको हितका निम्ति गम्भीरताका साथ काम गरेको प्रष्ट पार्नुभएको छ ।

देशवासीका नाममा आज सम्बोधन गर्नु हुँदै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा सरकारले संविधान र सङ्घीयताको कार्यान्वयनमा निकै महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आज जनताको जनादेश ले नभई सर्वोच्चको परमादेशले आफु सरकारको जिम्मेवारीबाट हटाइएको उल्लेख गर्नु हुँदै आफुलाई जनतामाथि विश्वास रहेकाले जनतामा जाने दिन आउँदा फेरि जनताले फैसला दिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले संवैधानिक इजलासको फैसलाले लोकतन्त्रका आधारस्तम्भका रुपमा रहेका राज्यका तीन अंगबीचको सन्तुलन नराम्रोसँग बिथोलेको र यस्तो व्याख्या र यसले सिर्जना गर्ने राजनीतिक विकृतिका सम्बन्धमा ठुलो मूल्य चुकाउनुपर्ने बताउनुभयो ।

उहाँले, माग दाबी नै नगरेको विषयमा समेत अदालतले फैसला दिँदा भविष्यमा थप सङ्कट निम्त्याउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले लोकतन्त्र आफ्नो जीविका नभई जीवन भएकाले आफूले देश र जनताका निम्ति सम्पूर्ण निष्ठा र इमानदारिता साथ काम गरेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफूले सरकारमा रहँदा विकासका निम्ति नयाँ नयाँ भिजन दिएर विकासलाई असाधारण र अभूतपूर्व रुपमा अगाडि बढाएको र जनताले राहत महसुस गर्ने गरी काम गरेको पनि बताउनुभयो ।

देश कोरोनाको महामारीसँग जुधिरहेकोले अहिलेको मूल प्रश्न कोरोना विरुद्धको खोप हो भन्नुहुँदै प्रधानमन्त्री ओलीले २०२१ सम्ममा सम्पूर्ण नेपालीलाई खोप पु¥याउने प्रबन्ध गरेको स्पष्ट पार्नुभयो ।

उहाँले सरकारले तीनै तहलाई कामकाजी बनाउन खेलेको भूमिकाका कारण छोटो समयमा नै सङ्घीयता कार्यान्वयनको अग्रणी स्थानमा मुलुक पुगेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले जनताको हित र सुशासनको दिशा दिन खोज्दा आफ्नैभित्र र बाहिरबाट घेराबन्दी र अवरोध खेप्नु परेको बताउनुभयो ।

देश कोभिड–१९को मारबाट आक्रान्त भइरहेको, बाढी पहिरो डुबान जस्ता विपत्तिबाट आक्रान्त भइरहेको अवस्थामा एकताबद्ध भएर देशको समृद्धिका लागि अगाडि बढाउनुपर्ने अवस्थामा देशमा द्वन्द्व बढाउने र अस्थिरता निम्त्याउने गरी लोकतन्त्रको विरुद्ध गम्भीर षड्यन्त्र भइरहेको समेत बताउनुभयो ।