१६ चैत्र २०८०, शुक्रबार

चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या फेरि बढ्यो, आज एकैदिन पाँच संक्रमितको मृत्यु

covid death

चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या फेरि बढेको छ ।

दैनिक २० जनासम्म कोरोनाले मृत्यु हुने गरेको चितवनमा यो संख्या घटेर शून्यमा झरेको थियो । विगत केही दिनदेखि दैनिक मृतकको संख्या दुई जना जति भए पनि आज एकै दिन चितवनमा कोरोना संक्रमणको कारणले पाँच जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार आज भरतपुर अस्पतालमा २ जना, चितवन मेडिकल कलेजमा एक जना र पुरानो मेडिकल कलेजमा दुई जनाले ज्यान गुमाएका हुन् । यसअघि सोमबार तीन जना र आइतबार दुई जनाको मात्र मृत्यु भएको थियो । आजका पाँच मृतकमध्ये चितवन जिल्लाका १ जना र चितवन बाहिरका चार जना रहेका छन् ।

त्यसैगरी चितवनका विभिन्न अस्पतालमा २०९ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । जसमा आईसीयूमा ७७ जना, भेन्टिलेटरमा १८ जना, एचडीयूमा ३४ जना, जेनरल बेडमा ९८ जना रहेका छन् । विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट २४ जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् ।