१७ बैशाख २०८१, सोमबार

आज आउने सम्भावना प्रतिनिधिसभा विघटन मुद्दाको फैसला

Supreme Court 43KnAVGEAY

सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सोमबारका लागि पेसी तोकेको छ । पक्ष विपक्ष तथा एमिकस क्युरीको रायसमेत सुनेपछि असार २१ गते सर्वोच्च अदालतले रिटलाई हेर्दा हेर्दैमा राखेर सोमबारका लागि पेसी तोकेको थियो । सम्भवतः सर्वोच्चले रिटमा अन्तिम आदेश सोमबार नै गर्ने छ ।

इजलासमा सम्मिलितमध्ये न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई अन्तिम आदेश तयारीमा संलग्न भइरहेको सर्वोच्च स्रोतले बताएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा असार ९ गतेदेखि २१ गतेसम्म रिटको निरन्तर सुनुवाइ भएको थियो । निरन्तर सुनुवाइ सकिएपछि न्यायाधीशबीच आवश्यक परामर्श र अन्तिम आदेश तयारीका लागि एक साताको समय राखेर हेर्दा हेर्दैमा पेसी तोकिएको थियो । निरन्तर सुनुवाइका क्रममा निवेदक पक्षले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश माग गरेको छ । यस्तै विपक्षीले भने विघटन संवैधानिक दायित्व पूरा गरेकाले बदर हुनु नपर्ने जिकिर गरेको छ । साथै अदालतले कुनै पनि अमूक व्यक्तिलाई प्रधानमन्त्री नियुक्तिको आदेश दिन नमिल्ने तर्क पनि विपक्षीको छ ।

सर्वोच्चले विघटन बदर गरेमा प्रतिनिधि सभा पुनस्र्थापना हुनेछ । साथै अदालतले बदरसँगै प्रधानमन्त्री चयन प्रक्रियाको अन्योलबारे पनि स्पष्ट आदेश गर्ने अपेक्षा गरिएको छ । विघटन सदर भएमा निर्वाचन प्रक्रिया अगाडि बढ्ने छ । निर्वाचन आयोगले आगामी कात्तिक र मङ्सिरमा दुई चरणमा निर्वाचन गर्ने गरी कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ ।