१५ बैशाख २०८१, शनिबार

गण्डकी प्रदेशको खेलकुद मन्त्रीमा मनाङ्गे र ऊर्जा मन्त्रीमा आचार्य नियुक्त

dipak mange and hari nayaran 1024x568 1

गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मनाङ्गे) ले तेस्रो पटक पनि युवा तथा खेलकुद मन्त्रालय सम्हाल्नु भएको छ ।

उहाँले पृथ्वी सुब्बा गुरुङ नेतृत्वको मन्त्रिपरिषद्मा समेत दुई पटक खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्नुभएपछि उहाँको मन्त्रिपरिषद्मा मनाङ्गे बिना विभागीय मन्त्रीमा नियुक्त हुनुभएको थियो ।

त्यस्तै जनता समाजवादी पार्टीका हरिशरण आचार्यले गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्हाल्नु भएको छ ।
सरकार गठन भएको लामो समयसम्म पनि विना विभागीय मन्त्रीमा रहनुभएका आचार्यले उक्त मन्त्रालय सम्हाल्नु भएको हो ।

गण्डकी प्रदेशमा केही मन्त्रीको कार्य विभाजन भए पनि अझै ६ वटा मन्त्रालयमा मन्त्री नियुक्त हुन सकेका छैनन् ।

प्रदेश सरकारमा रहेका ११ वटा मन्त्रालय मध्ये अर्थ, भौतिक पूर्वाधार, आन्तरिक मामिला तथा कानुन, कृषि, पर्यटनलगायतका मन्त्रालय भने मुख्यमन्त्री पोखरेलले आफैले राख्नु भएको छ ।