१४ बैशाख २०८१, शुक्रबार

चितवनमा डेल्टा भेरियन्ट कोरोना देखियो, जनस्तरमा व्यापकरुपमा फैलिएको अनुमान

delta varient 750x375 1

चितवनमा पछिल्लो समयमा कोरोना संक्रमण दर बढ्दै गएको छ ।

लकडाउन खुकुलो भएसँगै संक्रमणमा वृद्धि भएको हो । स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार असारको पहिलो हप्तामा दैनिक संक्रमितहरुको संख्यामा १०० भन्दा तल झर्ने गरेको चितवनमा असारको अन्तिम हप्ता बुधबार १३५ जना, बिहीबार १०० जना, शुक्रबार १०७ जना, शनिबार १११ जनामा देखिएको थियो । हरेक दिन संक्रमित थपिने दर पछिल्लो समयमा बढ्दै गएको हो ।

शनिबार अस्पतालहरु बन्द हुने भएकोले आज आइतबार स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्यांकमा ४२ जना संक्रमित थपिएका छन् ।

सरकारले भरतपुरका निजी अस्पतालमा कोरोनाको निःशुल्क उपचार नगर्ने निर्देशन गरेपछि अहिले भरतपुर अस्पतालमा कोरोनाका गम्भीर बिरामीहरुको संख्या बढेको छ । भरतपुर अस्पतालका कोभिड क्लिनिकल कोअर्डिनेटर डा प्रमोद पौडेलले चितवनमा कोरोना संक्रमण लकडाउन खुकुलो भएपछि केही बढेको जानकारी दिए ।

त्यस्तै चितवनमा कोरोना भाइरसको नयाँ प्रजाति डेल्टा भेरियन्ट देखिएपछि थप संक्रमण बढेको छ । डा पौडेलले चितवनमा कोरोना भाइरसको नयाँ प्रजाति डेल्टा भेरियन्ट देखिएकोले पनि यो भाइरस बढी संक्रामक रहेको जानकारी दिए । उनले भने, ‘राष्ट्रिय प्रयोगशाला टेकुमा हामीले चितवनबाट पठाएका स्याम्पलहरुमा डेल्टा भेरियन्ट पुष्टि भएको छ । यो भेरियन्ट हालसालै पुष्टि भएको हो ।’ उनले काठमाडौँ, चितवन र पोखरा जस्ता शहरी क्षेत्रमा डेल्टा भेरियन्टको संक्रमण फैलिन थालेको बताए ।

डा पौडेलले अहिले गम्भीर लक्षण देखिएपछि मात्र कोरोना परीक्षण गराउने भएकोले सतहमा आएको भन्दा चितवनमा व्यापकरुपमा कोरोना फैलिसकेको अनुमान गर्न सकिने बताए ।