७ बैशाख २०८१, शुक्रबार

चितवनका चिकित्सक तथा स्वास्थ्यकर्मीमा संक्रमण बढ्दै

607667d00d93b 5f65dc5f3a0c1 Untitled 2

चितवनमा चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण बढ्दै गएसँगै स्वास्थ्य सेवा प्रवाहमा समस्या हुनसक्ने भन्दै स्वास्थ्य विज्ञहरूले चिन्ता गरेका छन् ।

पुस २५ गतेबाट तीव्र रुपमा फैलिएको कोरोनाका कारण चितवनका २ सय स्वास्थ्यकर्मीहरू संक्रमित भएको भन्दै अस्पतालका सबै सेवा बन्द गर्नुपर्ने अवस्था हुन सक्ने जन स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दोस्रो भेरियन्टमा खोपले सबैलाई संरक्षण गरेको थियो । थोरै मात्र स्वास्थ्यकर्मी संक्रमित हुनुभयो । यो तेस्रो भेरियन्टमा खोपले काम गरेको छैन । स्वास्थ्यकर्मीहरु दिनानुदिन संक्रमित भइरहेका छन् ।

संक्रमण बढ्दा सेवा दिने कुरा चिन्ताजनक भएको छ । दैनिकरुपमा कसरी खोप अभियान चलाउने, अस्पतालहरू कसरी चलाउने भन्ने चिन्ता भएको छ । अब केही समय सबै कुरालाई रोक्नुपर्ने जस्तो अवस्था देखाइरहेको छ ।’

प्रमुख तिवारीले कोरोना संक्रमण पोजेटिभ भएका चिकित्सक तथा स्वास्थ्यकर्मीले पनि बिरामीको चेक जाँच गरिरहेको बताउनुभयो । अहिलेको तेस्रो भेरियन्टको सङ्क्रमणको प्रभाव ३ देखि ५ दिनसम्म बढी देखिएकाले त्यसपछि स्वास्थ्यकर्मीहरू सेवामा फर्किएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो भेरियन्टको लक्षण मुख्यतया तीनदेखि पाँच दिनसम्म बढी देखिएको छ । त्यसपछि हराउने भएको छ । सङ्क्रमणको अवस्था हेरेर पनि निर्णय हुन्छ ।

विकसित देशहरूले पनि स्वास्थ्यकर्मीलाई ५ दिनमै सेवामा फर्काएका छन् । त्यसले गर्दा सात दिन पछाडि सावधानीको मापदण्ड अपनाएर संक्रमण फैलिँदैन भन्ने तथ्यमै आधारित रहेर नेपाल सरकारले निर्णय गरेको होला ।

सेवा दिने व्यक्तिनै नहुनुभन्दा सावधानी अपनाएर काम गर्ने वातावरण बनाइएको प्रमुख तिवारीको भनाइ छ । समुदायमा ७० प्रतिशतमा तेस्रो लहरको संक्रमण फैलिसकेको तिवारीले बताउनु भयो । साथै उहाँले ओमिक्रोनको फैलन सक्ने क्षमता बढी भए पनि जोखिम भने कम भएको बताउनु भयो ।

अस्पतालमा भर्ना भएका सङ्क्रमितमा पहिलो र दोस्रो चरणमा जस्तो अक्सिजन नभै नहुने, गम्भीर प्रकृतिका लक्षण नदेखिएको तिवारीको भनाइ छ । तर, तेस्रो चरणको कोरोना भन्दै उपचारमा ढिला नगर्न उहाँले आग्रह गर्नुभयो ।

साथै अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मीको जोखिम भत्ता यथावत् रहेको कार्यालयले जानकारी दिएको छ । संक्रमित स्वास्थ्यकर्मीको बिदा कटौती गरिएको छैन ।

संक्रमण पुष्टि भएमा होम तथा अस्पताल आइसोलेसन र क्वारेनटिनका लागि एक हप्ताको छुट्टीको व्यवस्था गरेको छ । कन्ट्रयाक ट्रेसिङमा परेकालाई पाँच दिन आइसोलेसनमा बस्नका लागि बिदा दिइएको छ ।

यस्तै भरतपुर अस्पतालका वरिष्ठ कन्सल्टेन्ड फिजिसियन तथा कोभिड क्लिनिकल टिमका संयोजक डा. प्रमोद पौडेलले हतार गरी राजनीतिक जमघट, धार्मिक लगायतका मेला महोत्सव र वैवाहिक भीडले गर्दा संक्रमण बढेको बताउनु भयो ।

कोरोनाको तेस्रो भेरियन्टको फैलने क्षमताले पनि संक्रमण दर उच्च भएको उहाँको भनाइ छ । स्वास्थ्य मापदण्ड प्रयोगमा पनि हेल्चक्राई भएको उहाँले बताउनुभयो ।

यस्तै जनस्वास्थ्य कार्यालयकी सूचना अधिकारी गीताञ्जली ढकालले विगत दश दिनको संक्रमण दर हेर्दा ओमिक्रोन नै फैलिएको बताउनु भयो । चितवनबाट केन्द्रमा स्याम्पल गएकोमा ओमिक्रोन पुष्टि नभए पनि संक्रमण दरका कारण तेस्रो भेरियन्ट नै भएको उहाँको भनाइ छ ।

२०७६ साल पुस १७ गते पहिलो पटक चीनबाट स्वदेश फर्किएका विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको थियो । चितवनमा सोही वर्ष चैत ३ गते राप्ती नगरपालिकामा आमा र छोरोमा संक्रमण देखिएको थियो । उनीहरू पनि विदेशबाट नेपाल आएका थिए । सो अनुसार चितवनमा अहिलेसम्म एक हजार जना चिकित्सक र स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ ।