१६ बैशाख २०८१, आईतवार

जसपाका केन्द्रीय सदस्य र विद्यार्थी नेताले अलगअलग पार्टी दर्ताका लागि दिए निवेदन

jasapa

जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य र विद्यार्थी नेताले दुईवटा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आइतबार ज्ञानेन्द्रकुमार झा र अजयकुमार झाले आयोगमा दुईवटा पार्टी दर्ताका लागि बेग्लाबेग्लै निवेदन परेको जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठका अनुसार ज्ञानेन्द्रकुमार झाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र अजयकुमार झाको अध्यक्षतामा राष्ट्रिय जनता पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको छ ।
यसअघि गत शुक्रबार जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव निकट हरिनारायण यादवले पूर्व राष्ट्रिय जनता पार्टी नेपाल पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको थियो ।

पार्टी आधिकारिताका विवाद निर्वाचन आयोगमा चलिरहेका बेला जसपा अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव दुवै पक्षले एक–अर्काको पूरानो पार्टी दर्ता गराउन लागेका अनुमान गरिएकाे छ ।