१४ बैशाख २०८१, शुक्रबार

‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगले ठहर

Election Commission Nepal

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगले ठहर गरेको छ । आयोगको आज बसेको बैठकले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै दर्ता भएका निवेदन र दावी दुवैलाई खारेज गरेको हो ।

नेपालको संविधान, प्रचलिन कानून, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा नेकपा माओवादी केन्द्रको विद्यमान अस्तित्व वैधानिक रहेको ठहर भएको आयोगका सचिव सुरेश अधिकारीले संचारकर्मीलाई जानकारी दिएका हुन् ।

अधिकारीका अनुसार अधिवक्ता सरोज बुढाथोकीसहितको निवदेनमा माओवादी केन्द्रको वैधानिकताबारे प्रश्न उठाइएको थियो । पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतले आयोगमै पुगेर माओवादी अवैधानिक भएको दावी पनि गरे ।

त्यस्तै, माओवादी केन्द्र आफू मातहत रहेको भनी भविश्वर पराजुलीले दिएको निवेदन पनि आयोगले खारेज गरेको हो । पराजुलीले केन्द्रको लेडरप्याड दुरुपयोग गरेको देखिएकोले सचेत गराउने निर्णय भएकोसमेत आयोगले जनाएको छ ।आयोगले पूर्वमाओवादी नेताहरूको दावीलाई अस्वीकार गरेको हो ।