१६ बैशाख २०८१, आईतवार

‘लुट्न सके लुट सरकार,अन्य प्रदेशमा पाइदैन, प्रदेश २ मै छ छुट’!

1625922519218 750x375 1

प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेट कार्यकर्ता पाल्ने र भ्रष्टाचार गर्ने खालको मात्र रहेको साँसदहरुले टिप्पणी गरेका छन् ।

शनिवारको प्रदेशसभा बैठकमा भएको बजेटमाथि छलफलमा भाग लिँदै साँसदहरुले प्रदेश सरकारमाथि आक्रोस पोखेका हुन् । साँसद शारदा थापाले ‘लुट्न सके लुट सरकार, अन्य प्रदेशमा पाइदैन, प्रदेश २ मै छ छुट’ गित गाउँदै लुट र छुटमा आधारित बजेट आएको टिप्पणी गरिन् । उनले जनता आवास कार्यक्रमले सरकारलाई बदनाम गराएको पनि बताइन् । उनले भनिन्, ‘गरिब आवास भनेका छौं । माननीयहरु बदनाम भएकै छौं । सरकार पनि बदनाम भएको छ । तीन किस्ता दिनुपर्नेमा एक किस्ता मात्र दिएको छ । हिजो जाडोमा त अर्काको घरमा गुन्द्री ओढेर समय विताए । अब बर्षातमा उनीहरु कहाँ जान्छन् ? यसतर्फ सरकार गम्भिर बनोस् ।’ एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन भएको सुनेँ तर आफ्नो क्षेत्रमा रहेका ५२ वटा सामुदायिक विद्यालयमध्ये कहिँ पनि यो कार्यक्रम सञ्चालन नभएको गुनासो गरिन् । उनले बृक्षारोपनको नाममा पनि अनियमितता भइरहेको बताइन् । उनले भनिन्, ‘आज बृक्षारोपन गरिन्छ । तर भोलीपल्टै रुख कहाँ पुग्छ थाहा हुँदैन । रुख संरक्षण पनि गर्नुपर्छ ।’ जसपा साँसद परमेश्वर साहले क्रमागत योजनाहरु हटाउन नहुने बताए ।

उनले भने, ‘क्रमागत योजनाहरु एक वर्षमै सम्पन्न हुँदैन । यो योजनाहरु रद्द गरिए हामी डटेर विरोध गर्छौ । कसैले मनोमानी गर्न मिल्दैन ।’ उनले खेत खेतमा पानी, हात हातमा काम जस्ता पुराना धेरै कार्यक्रम छाडेर नयाँ नयाँ कार्यक्रम ल्याएकोमा आपत्ति जनाए । ‘गत वर्ष जनकपुरको सर्वाङ्गिन विकास गर्ने भनिएको थियो’, साँसद साहले प्रश्न गरे, ‘यसवर्ष शैक्षिक हबको रुपमा विकास गर्ने भनिएको छ तर शैक्षिक हब बनाउने आधार के ? कसरी यो योजना समावेश गर्यौं ? के सम्भव छ परम्परागत बजेट नहोस् भन्दै कार्यान्वयन पक्षमा जोड दिए । उनले संसदीय विकास कोष अन्तर्गतको काम चाँडै सुरु गर्नुपर्ने पनि उनको सुझाव थियो । नेकपा एमाले संसदीय दलका नेता शत्रुधन महतोले ‘एक निर्वाचन क्षेत्र, ५ किलोमिटर सडक’ योजना असफल भएकोमा दुःख व्यक्त गरे । उनले भने, यो योजना ल्याएपछि खुशी भएर ताली पिट्यौं । कैयौं ठाउँमा भाषण गर् यौं । तर आज लज्जित भएका छौं ।’ उनले गौरबको योजना भनेर जसरी प्रचार गर् यौं र यो योजना सफल भएन भने भोलीको दिनमा सरकार अप्ठ्यारोमा पर्न सक्ने भन्दै सरकारलाई गम्भिर हुन आग्रह गरे ।

मलखाद उपलब्ध गराऔं

बजेटमाथि छलफलमा भाग लिँदै साँसदहरुले कृषि क्षेत्रलाई प्राथमिकता राख्न सुझाव दिएका छन् । साँसद उपेन्द्र कुशवाहाले किसानलाई कम्तिमा समयमा मलखाद उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए । साँसद रुबी कर्णले विगत तीन वर्षमा कृषि उत्पादन बढाउन केहि काम नगरेको गुनासो गरिन् । उनले भनिन्, ‘तीन वर्षदेखि मलखाद उद्योग स्थापना गर्ने भनिरहेका छौं । तर किन भइरहेको छैन । सरकार अब पनि गम्भिर बनोस् । तत्कालै मलखाद उत्पादन गर्ने उद्योग स्थापनाको काम अगाडी बढाओस् ।’