१५ बैशाख २०८१, शनिबार

कोरोना त्रास्: भ्रमण वर्ष स्थगित, अन अराइभल भिषा बन्द, विमानस्थलमा सबैको जाँच

coronavirus

चीनको बुहानबाट फैलिएको कोरोना भाइसरको प्रकोपबाट अन्य देश पनि प्रभावित भएपछि जोखिम बढेको निष्कर्ष निकाल्दै नेपाल भ्रमण वर्ष–२०२० स्थगित गर्ने निर्णय भएको मन्त्रिपरिषद् स्रोतले जनाएकाे छ। स्रोतका अनुसार कोरोना भाइरसको जोखिम बढ्दै गएपछि अहिलेलाई भ्रमण वर्ष स्थगन गर्ने र सन् २०२२ मा आयोजना गर्ने विषयमा छलफल भइरहेकाे छ।

त्यसैगरी सरकारले नेपाल आउने विदेशीलाई आगमन भिसा(अन-अराइभल) भिसा नदिने भएको छ । आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी फागुन २४ गतेबाट ‘अन-अराइभल’ भिसा स्थगित गर्ने निर्णय गरेको श्रोतको भनाइ छ ।

कोरोना संक्रमण देखिएका देशहरुबाट नेपाल आउने व्यक्तिले सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाटै भिसा ल्याउनु पर्नेछ र भिसाका लागि निवेदन दिँदा स्वास्थ्य सर्टिफिकेटसमेत ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण भित्रिन नदिन थप कडाइ गर्न थालेको छ । संक्रमणको जोखिमलाई ध्यानमा राख्दै आइतबारदेखि त्रिभुवन विमानस्थल भएर आवतजावत गर्ने सबैको स्वास्थ्य जाँच सुरु गरिएको छ । विदेशबाट आउने पर्यटक, नेपाली तथा तेस्रो मुलुक जाने ट्रान्जिटका यात्रु सबैले स्वास्थ्य जाँचको डेस्क अनिवार्य पार गर्नुपर्ने व्यवस्था गरिएको हो ।