१६ बैशाख २०८१, आईतवार

देशभर लगातार वर्षाको सम्भावना, बढ्दै छ नदीको सतह

weather kathmandu

यस वर्ष मनसुनको पूरै अवधि वर्षामय हुने अनुमान मौसमविद्ले गरेका छन् । मनसुन सुरु भएको एक महिना लगातार वर्षा हुँदा पनि ‘मनसुन ब्रेक’ नभएको यो वर्षको मनसुनी वर्षाले लगातार तीन महिनासम्म नै आफ्नो प्रभाव जमाउन सक्ने अनुमान मौसमविद्हरूको छ ।

मौसमविद् शान्ति कँडेलले भन्नुभयो, “मनसुन सुरु भएको केही समयपछि मनसुनी वर्षा ब्रेक हुनुपर्ने हो तर यस वर्ष त्यो देखिएको छैन । ” उहाँका अनुसार केही दिनका लागि वर्षा ठ्याम्मै रोकिएर आकाश खुल्ने गरेको विगतका मौसमी प्रवृत्तिले देखाएका छन् । यो वर्ष मनसुन ‘ब्रेक नभई’नै दोस्रो महिनाको उकालो चढिसकेको छ ।

विगतका वर्षमा हप्ता वा पन्ध्र दिनको आसपासमा मनसुन ब्रेक हुने गरेको थियो । यस वर्ष एक महिनासम्म पनि वर्षा रोकिएको छैन । मौसमविद्ले भनेजस्तै एकाध घण्टा घाम झुल्किए पनि मौसममा सुधार भएर चकमन्न घाम नलागेको एक महिना बढी भइसकेको छ ।

मौसमविद् मीनकुमार अर्यालका अनुसार मौसम पूरै खुल्नेभन्दा पनि शुक्रबारदेखि हल्कादेखि मध्यम वर्षाको अवस्थामा परिणत हुनेछ । उहाँले भन्नुभयो, “हल्का सुधार त देखिन्छ तर वर्षा नै रोकिने सम्भावना कम छ । ”

बढ्दै छ नदी सतह

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार बिहीबार देशभर पूर्ण बदली रही धेरै स्थानमा ठूलो वर्षा भएको छ । विशेष गरी प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको महाशाखाका अनुसार अझै केही दिन देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । बुधबार रातिदेखि बिहीबारसम्मको वर्षाले देशका ठूला, मझौला र साना नदीहरूको बहाव उच्च भएको छ । शुक्रबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको खतरा कायमै रहेको जनाइएको छ । शनिबार पनि यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको क्रम निरन्तर रहने भएको छ ।

बिहीबारदेखि कोसी नदी र सहायक नदी सुनकोसी, भोटेकोसी, तामाकोसी, दूधकोसी, अरुण, तमोर नदीको जल बहाव बढ्दो छ । त्यस्तै नारायणी नदी र यसका सहायक नदीहरू त्रिशूली, बूढीगण्डकी, कालीगण्डकीलगायतका नदीहरूको बहाव उच्च बनेर सतर्कता तह पार गर्नसक्ने खतरा बढेको छ ।

तराई जाने नदीहरू बागमती, कमला, कन्काई, पूर्वी राप्ती, तिनाउ नदीमा उच्च बहाव हुने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाका प्रमुख विक्रम जुवाले अनुरोध गर्नुभएको छ ।

पछिल्लो समय चितवनको माडी र नवलपरासीको नवलपुर क्षेत्रमा भारी वर्षा भएको रेकर्ड भएको छ । जसका कारण ती क्षेत्रका स्थानीय नदीमा उच्च बहाव बढेर गाउँ पस्ने खतरा भएकाले तटीय क्षेत्रमा सावधानी अपनाउनुपर्नेमा जोड दिइएको छ ।