८ बैशाख २०८१, शनिबार

बाढीले दार्चुलामा दुई घर बगे, एक जना बेपत्ता

60e67ab3eb373 flood darchula

दार्चुलाको नौगाड गाउँपालिकामा बाढीले दुई वटा घर बगाएको छ । नौगाड गाउँपालिका–३ जामिरका स्थानीय नन्दु ठगुन्ना र गोठे टमटाको घर खार खोलामा आएको बाढीले बगाएको प्रहरीले जनाएको छ । खोला किनाराका अरु घरहरु पनि पहिरोको जोखिममा रहेको स्थानीय प्रकाशसिंह धामीले जानकारी दिनुभयो ।

पहिरोमै परेर एक जना पुरुष बेपत्ता हुनुभएको छ । बेपत्ता हुनेमा अन्दाजी ३० वर्षीय लक्ष्मण सितोली रहेको धामीले बताउनुभयो । बुधबार रातीको अबिरल बर्षाका कारण स्थानीयकाे घरहरूका साथै लघुजलविद्युत परियाेजना र झोलुगें पुलमा समेत क्षति पुगेको छ । खार खोलाका साथै विभिन्न खहरे खोलाबाट बाढी, पहिरो आउँदा ठूलो क्षति गरेको स्थानीयहरुले बताएका छन् । खारको गुन्ढाडु खोला, पारिखार, सितोलिबगड, ओखलधार र गुन्ढारु खोलाले जामिरको लघुजलविद्युत आयोजना, पुल लगायत संरचनामा क्षति पुर्याएको धामीले बताउनुभयो ।

घटनास्थलमा अहिले स्थानीयका साथै दल्लेख प्रहरी चौकीबाट प्रहरी टोली खटिएर उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । वर्षाका कारण आएको बाढी, पहिरोका कारण नौगाड गाउँपालिका–६ स्थित धुलिगडा गाउँमा अवस्थित एगरभगे र चोताडको खोलाले खानेपानी योजना र एउटा पानी घट्ट बगाउनुका साथै नजिकका घरहरु जोखिममा परेका छन् । नौगाड क्षेत्रमा टेलिफोनले काम नगरेको कारण क्षतिको विस्तृत विवरण प्राप्त हुन सकेको छैन् ।

बर्षा शुरु भएसँगै बाढी र पहिरोको जोखिम बढेको छ । दार्चुलाका सबै स्थानीय तहका विभिन्न क्षेत्र बाढीपहिरोको उच्च जोखिममा छन् ।