१९ बैशाख २०८१, बुधबार

इंग्ल्याण्डले ५५ वर्षको पर्खाइ अन्त्य गर्दै फाइनलमा पुग्यो

60e6596e1db59 England 2 1 Denmark Semifinal

इंग्ल्याण्ड गएको ५५ वर्षमा पहिलो पटक कुनै प्रमुख प्रतियोगिताको फाइनलसम्मको यात्रा तय गरेको छ । सन् १९६६ को विश्वकप फुटबलको फाइनलमा पश्चिमी जर्मनीलाई हराए यता इंग्ल्याण्ड कुनै पनि प्रमुख फुटबल प्रतियोगिताको फाइनलसम्मको यात्रा गर्न सकेको थिएन ।

गए राति अबेर सम्पन्न यूरो कप फुटबलको दोस्रो सेमीफाइनलमा डेनमार्कलाई हराएर इंग्ल्याण्ड फाइनलमा पुगेको हो । उपाधिका लागि इंग्ल्याण्डले प्रतियोगिताका दाबेदार इटालीको सामना गर्नेछ । डेनमार्क बिरुद्ध १–० ले पछाडि परेको इंग्ल्याण्डले पुनरागमन गोल गर्दै अतिरिक्त समयमा गरेको दोस्रो गोल मार्फत् जित हात पार्न सफल भयो ।

पहिलो हाफमा ३० मिनेटपछि मिक्केल डेम्सगार्डले फ्री किकलाई गोलमा परिणत गर्दा पाहुना टोलि डेनमार्कले १–० को अग्रता लिन सफल भयो । इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफर्डले ७२१ मिनेटपछि पहिलो गोल खानुभयो ।

वेम्ब्लीमा ६० हजार दर्शकको उपस्थित रहेपनि अधिकांश घरेलु टोलिको समर्थनमा रहेका थिए । तर हाफ टाइम सकिन मात्र छ मिनेट बाँकी छँदा डेनमार्कका कप्तान सिमोन जैरले बुकायो साकाको क्रसलाई आफ्नै गोलपोष्टमा छिराएपछि इंग्ल्याण्डले खेलमा १–१ को बराबरी गर्यो ।
डेनमार्कका गोलकिपर कास्पर सेमैचेलले हयारी मग्वेर र हयारी केनको गोलको प्रयासलाई विफल तुल्याएपछि खेल अतिरिक्त समयमा गएको थियो । १०३ औं मिनेटमा रहीम स्टर्लिङलाई जोकिम महेलले लडाएपछि इंग्ल्याण्डले पेनाल्टीको अबसर पायो । उक्त अबसरलाई हयारी केनले गोलमा परिणत गर्दै इंग्ल्याण्डलाई २–१ को अग्रता मात्रै दिलाउनुभएन बरु यूरो कप फुटबल २०२० को फाइनलमा पुर्याउँदै इंग्ल्याण्डको ५५ वर्षको प्रतिक्षा समेत समाप्त पार्नुभयो । केनले गर्नुभएको प्रहार सेमैचेलले विफल तुल्याएपनि ‘रिबाउन्ड’ भएको बल केनकै अगाडि आएपछि दोस्रो प्रहारलाई उहाँले गोलमा परिणत गर्नुभयो ।

डेनमार्क भने पेनाल्टी दिइएकोमा सन्तुष्ट देखिएन ।