३ जेष्ठ २०८१, बिहीबार

निषेधाज्ञा खुकुलोसँगै बढ्न थाल्यो सङ्क्रमण

corona virus graph

निषेधाज्ञा खुकुलो भएसँंगै कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुन थालेको छ । विगत २४ घण्टामा झन्डै तीन हजार जनामा सङ्क्रमण देखिएको छ । प्रत्येक दिन दुई हजार जनाको हाराहारीमा सङ्क्रमण झरिसकेको अवस्थामा दैनिक क्रमशः बढ्दै गई तीन हजारको हाराहारीमा पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार देशभर थप दुई हजार ९८९ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । सरकारले कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएपछि निषेधाज्ञा खुकुलो पार्दै लगेको थियो । यातायात सुचारु गरेसँंगै कोरोना सङ्क्रमितको सङ्ख्या बढेको हो । वरिष्ठ भाइरोलोजिस्ट डा. वासुदेव पाण्डे निषेधाज्ञा खुलाउन सरकारले हतार गरेको बताउनुभयो । एक हजार÷एक हजार पाँच सयको सङ्ख्यामा घटिसकेको सङ्क्रमण यातायातलगायत बजार पसल खुलेसँंगै बढेको जानकारी गराउँदै उहाँले दैनिक तीन हजारको हाराहारीमा सङ्क्रमण पुष्टि हुनुलाई घटेको भन्न नमिल्ने र जनस्वास्थ्यको मापदण्डबिना चललपहल बढ्नु ठीक नभएको बताउनुभयो ।
दोस्रो लहरको सङ्क्रमण चरमबिन्दुमा पुगेका बेला एक महिनाअघि दैनिक नौ हजार चार सयसम्म कोरोना सङ्क्रमित पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार पछिल्लो २४ घण्टामा सात हजार ८३५ जनाको पीसीआर र चार हजार ६३ जनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ९७९ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसहित नेपालमा कुल सङ्क्रमितको सङ्ख्या छ लाख ९० हजार ९७४ पुगेको छ ।

नौ जिल्लामा बढी सङ्क्रमण

नौ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका साथै चितवन, रसुवा, कास्की, झापा, सुनसरी, मोरङ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् । देशभर सक्रिय सङ्क्रमित २३ हजार ७५६ जना रहेका छन् । यसअघि कोरोना अत्यधिक वृद्धि हुँदा देशभर एक लाख १७ हजारसम्म सक्रिय सङ्क्रमित पुगेका थिए । बुधबार काठमाडौँमा ३९०, भक्तपुरमा ६७ र ललितपुरमा ८६ जना गरी काठमाडौँ उपत्यकामा ५४३ जना सङ्क्रमित थपिएका छन् । यस्तै देशभरका अस्पतालका आईसीयूमा ५७१ र भेन्टिलेटरमा १६१ जना सङ्क्रमित उपचाररत रहेका छन् ।