२४ बैशाख २०८१, सोमबार

संसद पुनर्स्थापना हुनुपर्छ, प्रधानमन्त्री देउवाजी नै बन्नुहुन्छ :प्रचण्ड

prachanda

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना हुनेमा आफू विश्वस्त रहेका बताएका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधनमा श्रद्धाञ्जली अर्पण गर्न मंगलबार जनकपुरधाम आएका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतबाट परमादेश जारी हुने विश्वास व्यक्त गरे । ‘देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ । अनि संसद पनि पुनर्स्थापना हुन्छ’ उनले भने ।

सर्वोच्च अदालतमा बुझाएको १ सय ४६ संसदको हस्ताक्षरको आधारमा अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी हुनुपर्ने समेत प्रचण्डले विश्वास व्यक्त गरे ।

प्रचण्डले संविधानको मर्म र भावना, लोकतान्त्रिक मूल्य मान्यता अनुसार संसद पुनःस्थापनाको विकल्प नरहेको बताए । उनले भने, ‘संसद पुनःस्थापना हुँदैन भन्नुको अर्थ संविधान तथा लोकतन्त्र मिचेपनि हुन्छ भन्ने नजिर स्थापित हुन्छ, त्यता तर्फ म कल्पनासम्म गर्न सक्दिनँ ।’
प्रचण्डले प्रधानमन्त्री केपी ओलीले अदालतलाई अनावश्यक दवाव दिन खोजेको भन्दै यसबाट उनी निरंकुशतातर्फ थप अग्रसर हुँदैछ भन्ने प्रमाणित हुने जिकिर गरे । ‘प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई दवाब दिन खोज्दै छन्, यसले उनी निरंकुशता तर्फ थप अग्रसर हुँदै छन् भन्ने प्रमाणित भइरहेको छ ’, उनले भने, ‘उहाँ नेपाली जनताको नजरमा एक निरंकुश र लोकतन्त्र बिरोधी तत्वको रुपमा रहेको उजागर भइसकेको छ, उहाँले गरेर केही हुनेवाला छैन ।’

अर्को प्रशंगमा अध्यक्ष प्रचण्डले संविधान त्रुटीपूर्ण रहेको स्वीकार्दै संविधान संशोधनको पक्षमा आफू रहेको बताए । संविधान त्रुटीपूर्ण रहेपनि वर्तमान संविधानबाट प्राप्त अधिकारको रक्षा गर्ने दायित्व भने सबैको रहेको उनले बताए । उनले प्रदेश २ को नाम मधेश रहनुपर्ने पनि बताएका छन् ।

सो अवसरमा प्रचण्डले दिवंगत पार्टी केन्द्रीय सदस्य महादेव यादवको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मानका साथै श्रद्धाञ्जली अर्पण गरेका थिए । माओवादी केन्द्र धनुषाको कार्यालयमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृकाप्रसाद यादव, नेकपा एमालेका केन्द्रिय सदस्य तथा संसदीय दलका नेता शत्रुधन महतो, नेकपाका नेता गौरी मण्डल सहितका शीर्ष नेताहरु सहभागी भएका थिए ।